शिक्षिका यादवविरुद्ध नक्कली नियुक्ति पत्र बनाएको आरोप

शिक्षिका यादवविरुद्ध नक्कली नियुक्ति पत्र बनाएको आरोप


धनुषा ।

मिथिलाबिहारी नगरपालिका–९ स्थित श्री रामजानकी प्राथमिक विद्यालयका शिक्षिका निलम कुमारी यादवलाई नक्कली नियुक्ति पत्र बनाएको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरीएको छ ।

आर्थिक वर्ष २०७१ असोज ७ मा श्री भानु उच्च माध्यमिक विद्यालय, किसानपुरबाट रामजानकी विद्यालयमा दरबन्दी पदस्थापन गरेको नियुक्ति नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा यादवले भानु उच्च माध्यमिक विद्यालय, किसानपुर, धनुषाको पत्र नक्कली बनाएको खुलेको हो ।

सोही पत्रको आधारमा श्री रामजानकी प्राथमिक विद्यालय कटरैतमा पदस्थापन भई नपाएको अधिकार, शिक्षक पदको ओहदा, हैसियत वा सुविधा प्रयोग गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिम कैद र जरिवाना हुन माग गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सरकारी निकाय वा संस्थालाई हानी पुर्‍याउने बदनियतले प्रतिवादी यादवसँग नक्कली विस्थापन तथा पदस्थापन कार्यमा मिलेमतो गर्ने उपेन्द्र मण्डलको संलग्नता रहेको समेत पुष्टि भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यादव र मण्डललाई भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई मंगलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।