बुटवलको नयाँ बसपार्कमा ७ तले कार पार्किङ भवन बनाउन सुरु

बुटवलको नयाँ बसपार्कमा ७ तले कार पार्किङ भवन बनाउन सुरु

स्नानगृहसहितको सुविधासम्पन्न शौचालय पनि बन्ने


बुटवल । बुटवलको नयाँ बसपार्कमा स्नानगृहसहितको सुविधासम्पन्न शौचालय बन्ने भएको छ। १ करोड ८० लाख ८४ हजार लागतमा बन्ने शौचालय निर्माणस्थलमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिलान्याश गरेका छन् । शिलान्याशपछि बोल्दै नगर प्रमुख पाण्डेयले बसपार्कलाई स्तरीय, सुविधासम्पन्न र सुरक्षित बसपार्कका रुपमा विकसित गर्ने उदेश्यका साथ योजना अगाडि बढाएको बताए ।

उनले बसपार्कमा उज्यालोका लागि २ वटा हाइमास्ट लाइट, स्तरीय क्यान्टिन, कोशेली घर, ७ तले कार पार्किङ भवन, सुविधासम्पन्न शौचालय र विश्रामस्थल बनाउने योजना नगरले अगाडि बढाएको बताए।उनले बसपार्कलाई सफा र व्यवस्थित राख्नका लागि यातायात व्यवसायी र मजदुरहरुले पनि उत्तिकै चासो दिनुपर्ने बताए ।बुटवललाई सफा, सुन्दर र हरियाली शहर बनाउनका लागि नगरले निरन्तर अभियान सञ्चालन गरेको र यसमा जनसहभागिता तथा संघसंस्थाहरुले समेत यसलाई प्राथमिकताका साथ चासो दिएमा बुटवल उदाहरणीय शहर बन्ने बताए।

उनले नयाँ बसपार्क सुधार तथा व्यवस्थापनमा नगरले निरन्तर काम गरिरहेको बताउँदै बुटवललाई उपयुक्त विश्रामस्थल बनाउनका लागि चरणबद्ध योजना बनाएको बताउनुभयो। नयाँ बसपार्कलाई सिटी बसपार्क बनाएर अर्को बसपार्क बनाउने गरी तयारी भइरहेको उनले बताए।