‘भगौडा’ उपमेयरलाई प्रचण्डको साथ, अमेरिका पुगेर फोटो सेसन !

‘भगौडा’ उपमेयरलाई प्रचण्डको साथ, अमेरिका पुगेर फोटो सेसन !

जनतालाई मूर्ख बनाउन प्रचण्डले नै सिकाएकाे हाे ?

शिव लम्साल
768
Shares

काठमाडौँ ।

गएको सोमबार बेलुकीपख सामाजिक सञ्जालमा एउटा फोटो देखियो । जुन फोटो अहिले निकै चाखका साथ नेपालभर फैलिरहेको छ ।

फोटो अमेरिकाबाट पोस्ट भएको थियो । फोटोमा देशको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), गंगा दाहाल र दर्शना नेपाली देखिएका छन् ।

फोटोसँगै लेखिएको थियो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई अमेरिकामा हार्दिक स्वागत, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गर्नुभएको छ । सम्माननीय प्रधानमन्त्रीज्यू तथा भ्रमण दलका सबै सदस्यलाई भ्रमण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ । अमेरिकामा हार्दिक स्वागत ! अमेरिकाको बसाइ सुखद् रहोस्, हार्दिक शुभकामना !’

यो पोस्ट गर्ने व्यक्ति थिइन्, दन्ता (दर्शना) नेपाली । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्डसँग खिचेको तस्बिर दर्शनाले सोमबार फेसबुकमार्फत् सार्वजनिक गरेकी हुन् । उनको प्रोफाइलमा लेखिएको छ– ‘एक्स डेपुटी मेयर’ ।

हो, उनी नेपालकी पूर्वउपमेयर हुन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादीबाट टिकट पाउँदै कालीकोको तिलागुफा नगरपालिकामा उपमेयरमा चयन भएकी थिइन् । यहाँसम्म कुरा सामान्य नै छ । तर, अचम्मचाहिँ के हो भने, उनी ‘भगौडा’ जनप्रतिनिधिका रूपमा चिनिन्छिन् ।

२०७६ सालको कात्तिकमा उनी उपमेयरसँगै नेपाल नगरपालिका संघको केन्द्रीय सदस्यको हैसियतमा गोष्ठीका लागि भन्दै अमेरिका पुगेकी थिइन् । त्यसपछि उनी नेपाल नै फर्किइनन् ।

उनी नेपाल नगरपालिका संघमार्फत् इन्टरनेसनल सिटी म्यानेजेर एसोसिएसन (आइसिएमए)ले आयोजना गरेको गोष्ठीमा सहभागी हुन अमेरिका पुगेकी थिइन् । सुरुमा बिरामी परेकाले नेपाल आउन ढिला हुने भन्दै तत्कालीन मेयरलाई बताएकी थिइन् । तर, पछि सम्पर्कबाटै हराइन् ।

कार्यकाल बाँकी छँदाछँदै आफ्नो दायित्वबाट भागेर अमेरिका भासिएकी उनले कुन धरातलीय नैतिकतामा देशको प्रधानमन्त्रीसँग भेटेर मुस्कुराउँदै फोटो खिचिन् ? भन्ने प्रश्न समाजिक अभियन्ताहरूको छ । राजनीतिक विश्लेषक भन्छन्, ‘एक त उनी जनप्रतिनिधि हुँदाहुँदै विदेश पलायन हुनै नहुने हो । गए पनि कमसेकम राजीनामा त दिनुपर्छ नि ! कि पार्टीले त्यस किसिमको शिक्षा दिन सकेन ?’

माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पनि यसमा हेक्का राख्नुपर्ने उनको धारणा छ । उनले भने, ‘यदि प्रधानमन्त्रीलाई यो विषयमा जानकारी छैन भने पार्टीले यस विषयमा जानकारी गराउनुपर्छ र उनलाई कारबाही गर्नुपर्छ ।’

उनको अभावमा पालिकाको न्यायिक समिति तथा योजना तथा अनुगमन समितिलगायतका काम प्रभावित पनि भए । तर, उनको कुनै अत्तोपत्तो भएन । जनताले आफ्ना लागि चुनेर पठाएका जनप्रतिनिधि नै काम पर्दा पालिकामा नहुँदा स्थानीय पनि आक्रोशित भएका थिए ।

उपमेयर दर्शना सम्पर्कविहीन भएपछि नगरपालिकाले २७ फागुन, २०७७ देखि उपमेयरले गर्ने कामको जिम्मा वडा नम्बर ८ का तत्कालीन वडाध्यक्ष तिलक न्यौपानेलाई लगाएको थियो ।

२०७७ सालमा नेपाली कांग्रेस तिलागुफा नगर कार्यसमितिले पत्रकार सम्मेलन गरेरै दर्शनालाई कारबाही गर्न माग गरेको थियो । तर, पत्रकार सम्मेलन त्यतिमै सीमित भयो, दर्शनालाई कुनै कारबाही भएन ।

उता, उपनिर्वाचन गर्नका लागि पनि उनी आफैँ बाधक बनिन् । संविधानमा कुनै जनप्रतिनिधिको मृत्यु भएमा वा राजीनामा दिएको अवस्थामा मात्र पद रिक्त भएको मानिने व्यवस्था छ । र, त्यस्तो अवस्थामा मात्र उपनिर्वाचन गर्न मिल्छ । तर, दर्शनाले न आफू आएर आफ्नो दायित्व पूरा गरिन् न त आफ्नो पद छाडेर बाटो नै प्रशस्त गरिन् ।

जातीय विभेदको अन्त्य गर्ने, गाउँगाउँमा यातायात, बिजुली बत्ती, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, पर्यटन प्रवद्र्धन र कृषि उत्पादनको नमुना नगर बनाउने भन्दै तिलागुफाबासीलाई सपना बाँडेकी उनी अहिले आफ्नै स्वार्थ पूरा गर्न लागेकी छिन् । कुनै समस्या परेको भए राजीनामा दिने व्यवस्था पनि थियो । तर, उनले जनप्रतिनिधिको गरिमालाई नै नबुझेको प्रष्ट हुन्छ ।

उपमेयरको पदलाई नै लात हानेर जनताको मतमा विश्वासघात गरेकी उनी अहिले एकाएक देशको प्रधानमन्त्रीसँग देखिनुले देशको राजनीतिक निष्ठा र जनताप्रतिको उत्तरदायित्वको परिभाषालाई नै माथ खुवाएको छ ।

दर्शनाले चुनावी प्रचारका क्रममा भन्ने गरेकी थिइन्, ‘कपाल फुलेर मात्र हुँदैन, काम गर्ने नयाँ सोच, योजना र प्रतिबद्धता चाहिन्छ । त्यो मसँग छ ।’ तर, उनको त्यो बोली चुनावी स्टन्ट मात्र रहेको प्रष्ट हुन्छ । नेपालको राजनीति, राजनीतिक दल र तिनका नेताप्रति जनताको विश्वास घट्नुमा यस्ता घटना पनि प्रमुख कारण मान्न सकिन्छ ।

भाषणमा जनताका लागि भन्ने अनि अवसर पाउनासाथ आफ्नो कर्तव्य र दायित्व बिर्सिने नेतृत्वको प्रवृत्तिकै कारण देशका युवाहरूले आज देशमा आफ्नो भविष्य देखिरहेका छैनन् ।

एसएलसी पास गरेपछि पढ्नका लागि काठमाडौँ आएकी उनी गोठाटारको गान्धी आदर्श उच्च माविमा भर्ना भएकी थिइन् । उनको राजनीतिक यात्रा पनि यहीँबाट सुरु भएको थियो । बिबिएस पढ्न पद्मकन्या कलेज भर्ना भएकी दर्शना २०७१ सालमा अखिल क्रान्तिकारीको पिके क्याम्पस एकाइ अध्यक्ष बनेकी थिइन् ।

२०७३ सालमा भएको स्ववियु चुनावमा अखिल क्रान्तिकारीको तर्फबाट सभापतिको उम्मेदवारी दिएकी उनी २०७४ सालमा तिलागुफा नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन् ।