‘संविधान दिवस मनाउन दिएको बिदामा कर्मचारी घरमै बसे’

‘संविधान दिवस मनाउन दिएको बिदामा कर्मचारी घरमै बसे’


महोत्तरी ।

संविधान दिवसको अवसरमा महोत्तरीका स्थानीय तहले हर्षोल्लासका साथ प्रभातफेरी गरेका छन् ।

बिहानैदेखि नागरिक समाज, संघसंस्थाहरू, राजनीतिक दलहरूलाई सहभागी गराएर निकालिएको प्रभातफेरीमा उत्साहजनक उपस्थिति थियो ।

प्रभातफेरीपछि भएको कोणसभामा बोल्दै वक्ताहरूले जनताको लोकतान्त्रिक अधिकार स्थापित गर्न यो संविधान नै उत्कृष्ट भएको विचार व्यक्त गरे ।

बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले कोणसभालाई सम्बोधन गर्दै संविधान दिवसलाई कालो दिवसका रूपमा मनाउन उक्साउने केही मधेसवादी दलहरूप्रति कटाक्षसमेत गरे ।

‘जन्ताको हकअधिकार सुनिश्चित गर्नका लागि यही संविधान उत्कृष्ट भएको र संशोधन गरेर पनि थप परिमार्जन गर्न सकिने बाटोहरू खुला छन्,’ उनले भने ।

संविधान दिवस जस्तो महत्त्वपूर्ण दिनमा बिदाका नाममा घरमा नै बस्ने कर्मचारीप्रति नगर प्रमुख क्षेत्रीले असन्तुष्टिसमेत व्यक्त गरे ।

संविधान दिवस मनाउन दिएको बिदालाई दुरुपयोग गर्दै घरमा बसेर कार्यक्रममा सहभागी नहुनु दुःखद् भएको उनको भनाइ छ ।

ठुला-ठुला आन्दोलन र बलिदानबाट प्राप्त भएको संविधानको रक्षार्थ सबै एकजुट हुनुपर्ने बताउँदै नगर प्रमुख क्षेत्रीले कर्मचारीहरूलाई घरमा बसेर संविधानको अपमान नगर्न सचेतसमेत गराए ।