कुटपिट गरी तिलहरी, मोबाइल लुटपाट , २ जना पक्राउ

कुटपिट गरी तिलहरी, मोबाइल लुटपाट , २ जना पक्राउ


कञ्चनपुर ।

कञ्चनपुरमा सडकमा आक्रमण गरेर लुटपाट गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२ दैजी बस्ने २२ वर्षीय कमल चौधरी र २७ वर्षीय राजु डगौरा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार उनीहरुले शुक्लाफाँटा नगरपालिका–५ स्थित अर्जुनी जंगलमा बुधबार साँझतिर २ जनामाथि आक्रमण गरी कुटपिट गर्दै लुटपाट गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले शुक्लाफाँटा नगरपालिका–५ बस्ने ४० वर्षीय अम्बादत्त जोशी र उनकी बहिनी द्रोपती जोशीलाई गड्डाचौकीबाट जर्सी गाई घरतर्फ ल्याइरहेको अवस्थामा २ युवकले कुटपिट गरी लुटपाट गरेको बताए ।

द्रोपतीले घाटीमा लागाएको ८ आनाको तिलहरी, मोबाइल लुटेर फरार भएका दुवै जनालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेको हो ।

कुटपिटबाट घाइते भएका अम्बादत्तको दुवै हात र खुट्टामा चोट लागेको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।