रामेछाप ।
उचित संरक्षण र मर्मत सम्भार नहुँदा नेपालका थुप्रै ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदा नष्ट हुँदै गएका छन् ।
संरक्षणको अभावमा कतिपय सम्पदा ढलेर माटोमा मिलिसके । कतिपय ढल्ने क्रममा छन् । यस्ता सम्पदाको संरक्षणमा सरकारको यथोचित ध्यान पुग्न सकेको छैन ।
संरक्षणको अभावमा प्राचीन पाटी–पौवाहरू जीर्ण बन्दै र भत्कँदै गएका छन् । यात्रामा निस्किएकालाई बास बस्न र आराम गर्न बनाइएका त्यस्ता पाटी–पौवाको न अहिले उपयोग छ, न संरक्षण नै । त्यसैले नेपाली प्राचीन हस्तकलाको इतिहास बेकेका ती सम्पदा बिस्तारै लोप हुँदै जाने क्रम बढ्दो छ ।
पूर्वबाट सुनकोसी किनार हुँदै काठमाडौं यात्रा गर्ने यात्रीहरूका लागि बाटो छेउमा बनाइएका प्राचीन पाटी–पौवा धेरै ढलिसके । ती प्राचीन सम्पदा इतिहास बने । इतिहास बोकेर बसेका केही बाँकी सम्पदाको पनि संरक्षण हुन सकेको छैन ।
संरक्षण र मर्मत सम्भारको अभावमा सिन्धुलीको हालको सुनकोसी गाउँपालिका–६ घुमाउने चैनपुरमा रहेको पाटी पनि ढल्ने अवस्थामा पुगेको छ । विक्रम संवत् १८५० साल तिर बनेको सो पाटी अहिले जीर्ण बनेको छ ।
तत्कालीन अमारेका अरिमर्दन थापाले घुमाउने चैनपुर डाँडामा पाटी बनाउन काठ बोकाएर मानिस पठाउँदा चैनपुरका बासिन्दाहरू रुपदल कर्की, हिमदल कार्की र बाग्दल कार्कीले आफ्नो गाउँमा आफैँ पाटी बनाउने भन्दै अमारेका थापालाई घुमाउने चैनपुरको खेतमा पाटी बनाउन सुझाव दिएको इतिहास रहेको स्थानीय उमेश कार्की बताउँछन् । त्यस पछि अमारेका थापाले चैनपुरको खेतमा र चैनपुरका कार्कीहरूले चैनपुर डाँडामा पाटी बनाएको इतिहास छ । ‘खेतको र डाँडाको दुवै पाटी एकैसाथ बनको भन्ने इतिहास पाइन्छ’, कार्कीले भने ।
२ सय ३० वर्ष लामो इतिहास बोकेको घुमाउने चैनपुरको पाटीमा कलात्मक झ्याल, मेठ र टुँडालहरू राखिएका छन् । यो पार्टीले ठुला ठुला भूकम्प सह्यो, घाम, पानी, हावा हुरी खेप्यो । यी सबै कुरा झेल्दै पाटी अहिले पनि उभिइरहेको छ ।
पाटीको मर्मत सम्भार र जीर्णाेद्धार नहुँदा बिस्तारै जीर्ण बन्दै गएको छ । अब पनि जीर्णाेद्धार नगर्ने हो भने सो पाटी कुनै पनि बेला ढल्ने अवस्थामा पुगेको छ । ‘अब पनि मर्मत न गर्ने हो भने यो पाटी पनि इतिहास बन्छ’, कार्कीले भने ।
सो पाटी जीर्णोद्धार गर्न स्थानीयबाट सम्भव छैन । ऐतिहासिक र पुरातात्विक महत्वको संरचना भएकोले पनि त्यसको पुरातात्विक हिसाबले जीर्णाेद्धार गर्न सरकारले ध्यान दिन आवश्यक छ ।
पार्टी संरक्षणको लागि स्थानीयले समिति पनि बनाएका छन् । स्थानीय इन्द्रबहादुर र्कार्कीको अध्यक्षतामा समिति छ । समितिको कोषमा अहिले करिब २ लाख ५० हजार रुपैँया छ ।
सुनकोसी गाउँपालिकी–६ को घुमाउने चैनपुर फाँटमा सो पाटीको नाममा केही गुठीको जग्गा पनि छ । पाटीको नाममा सो फाँटमा २ रोपनी ४ आना जग्गा रहेको कार्कीले जानकारी दिए । जसबाट पाटीको कोषमा वार्षिक ९ हजार रुपैँया आउँछ । पाटीको आम्दानीको स्रोत त्यति हो ।
त्यति आम्दानीले न पाटीको मर्मत गर्न पुग्छ, न संरक्षणको लागि नै सो रकम पर्याप्त हुन्छ । सरकारले जीर्णोद्धारको काम नथाल्ने हो भने पाटी कुनै पनि बेला ढल्न सक्छ । हेर्दा हेर्दै ज्युँदो इतिहास माटोमा मिल्न सक्छ ।
प्रतिक्रिया