काठमाडौंका सामुदायिक विद्यालयले मानेनन् बालेनको आदेश !

काठमाडौंका सामुदायिक विद्यालयले मानेनन् बालेनको आदेश !


काठमाडौं ।

काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् ।

विद्यालय शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुले माइतीघर–नयाँबानेश्वर सडकमा आन्दोलनका कारण विद्यालय बन्द भएको महानगरले जनाएको छ । बन्द भएको विद्यालयमा विद्यार्थी आए पनि फर्किनुपरेको थियो ।

विद्यालयको अनुगमन गर्न नगर प्रहरी आफैं खटिएको थियो । ‘हामी अनुगमन गर्न जाँदा सबै विद्यालय बन्द भेटिएका छौं, विद्यालय बन्द भएको टिप्पणी उठाएर महानगरपालिकाको शिक्षा विभागमा हामीले पठाउँछौं,’ नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले बताए ।

महानगरपालिकाको शिक्षा विभागले बन्द भएको विद्यालयका शिक्षकहरुको विषयमा प्रतिवदेन तयार गरेको आवश्यक कारबाहीको लागि कार्यपालिकामा पेश गर्ने तयारी गरेको छ ।

‘नगर प्रहरीहरु विद्यालय विद्यालयमा पुगिरहेका छन्, अनुगमन बेलुकासम्मै हुन्छ, त्यसपछि के गर्ने बारेमा निर्णय हुन्छ,’ महानगरका प्रवक्ता नविन मानन्धरले भने ।

काठमाडौं महानगरपालिकामा ८९ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । काठमाडौं महानगरले विद्यालय अनुगमनको क्रममा विद्यालय बन्द भएको पाइएमा प्रधानाध्यापक तथा शिक्षकलाई कडा कारबाही गर्ने विहीबार चेतावनी दिएको थियो ।