क्रसर र भूमाफियाले निलेको ‘रातु नदी सभ्यता’

क्रसर र भूमाफियाले निलेको ‘रातु नदी सभ्यता’

विकास टाइम्स
636
Shares

महाेत्तरी ।

दशकअघि रातु नदीमा गएर पौडी खेलेको र सफा पानी पिउने गरेको बर्दिबास–१ का स्थानीय शंकर थापालाई अहिले पनि आँखैअगाडि झलझली याद आइरहन्छ ।

दशकको छोटो अवधिमा थापाले रातु नदीमा मात्र होइन, चुरेको फेदीमा पानी पलाइरहने मुहानहरूसमेत सुकेको देखेका छन् ।

‘पहिले र अहिलेको तुलनामा नदीमा देखिएको सुख्खापनले साह्रै विरक्त लाग्छ,’ उनले भने । ‘हाम्रा नाति पुस्ता कसरी बाँच्ला भन्नेमा नै मलाई ठुलो चिन्ता छ ।’

यस्तै चिन्ता अर्का स्थानीय भरत अधिकारीको पनि छ । ‘१० वर्षअघिसम्म यहाँ कञ्चन पानी पाइन्थ्यो, जताततै पानीका मुहानहरू थिए । खहरे खोल्सीहरूबाट पानी अटुट बगिरहन्थ्यो,’ अधिकारी १ दशकअघिको अवस्था सम्झिँदै भन्छन्, ‘अहिले त नदी, नदी जस्तो नै देखिएन ।’

यो अवधिमा रातुकै भरमा सिँचाइ गर्ने कैयौँ स्थानीयले खेतीपाती लगाउनै छाडेका छन् । रातुको सिरानमा रहेका पानीका मुहानहरू सुक्दा कालापानी, बाहुनमारामा बस्ने स्थानीयलाई समेत समस्या सिर्जना हुँदै गएको छ ।

‘१० वर्षअघिसम्म मात्र पनि सिँचाइको सुविधाले हामीले बर्दिबासमा ३ बाली लगाउँथ्यौँ । पर्याप्त उत्पादन हुन्थ्यो,’ अधिकारीले छोटो अवधिमा देखिएको भयावह अवस्था सम्झिँदै भने, ‘नदी दोहनकै कारण यो समस्या बढेको हो भन्ने लाग्छ ।’

रातु सभ्यताको विषयमा अझ कार्बिनले १० हजार वर्ष पुरानो मानव सभ्यता भएको निष्कर्ष निकालेपछि देशैभरका मानवशास्त्री तथा अनुसन्धानकर्ताहरूका लागि थप रहस्यमय बनेको छ ।

पानी सुकेपछि क्रसर व्यवसायी र भूमाफियाहरूलाई नदी उत्खनन गर्न सजिलो बनेको छ । रातु नदीमा बेलुका ५ बजेपछि ३ दर्जनभन्दा बढी ट्रक, ट्याक्टरहरू नदीजन्य वस्तु खोतलिरहेको देखिन्छ ।

दिनानुदिन पानीको समस्या बढिरहेका बेला रातु नदीको विगत फर्केर हेर्नेहरू अहिले निकै टोलाउँछन् । नदीनज्य वस्तुको दोहन र अनियन्त्रित चुरे दोहनले पानीका मुहानहरू सुख्खा बनेका त छन् नै, रातु नदीको ऐतिहासिक गौरवसमेत संकटमा परेको छ ।

भनिन्छ– जतिसुकै पूर्वाधार बनाए पनि नदी सुक्दै, प्रदूषित हुँदै र जलप्रवाहको मात्रा घट्दै गयो भने विनाशको सुरुआत त्यहीँबाट हुन्छ । रातु नदीमा देखिएको संकटले पनि मानवीय अस्तित्वमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ । अनियन्त्रित दोहन र मानवीय क्रियाकलापकै कारण रातु आफैँ विनाशको कारक बन्दै गएको त छ नै, तटीय क्षेत्रमा बसोबास गर्नेहरूसमेत सचेत बन्न नसक्दा थप चुनौती थपिएको जानकारहरू बताउँछन् ।

उत्खनन गरेर नदीलाई क्षत्विक्षत् बनाउने संगठित गिरोह रातु नदीमा मात्र होइन, अन्य सहायक खोलामा समेत त्यत्तिकै देखिन्छन्, जसका कारण इनार तथा ट्युबवेलहरूमा यथास्थानमा पानी पाउन छाडेको छ ।

‘पहिलेका इनारहरू काम नलाग्ने भएका छन्, नयाँ इनारका लागि निकै गहिरो खन्दा पनि पानी भेटिँदैन,’ रातुको दक्षिण गाउँका किसान विजय यादव दुखेसो गर्छन्, ‘सिँचाइ त परै जाओस्, पानी खान पाइएला कि नपाइएला भन्ने चिन्ता बढ्दै गएको छ ।’

अहिले रातु नदीको मुहानमा केही पानी देखिए पनि तल आएपछि बालुवाका ढिस्का र उत्खननमा सक्रिय ट्याक्टर र टिपरबाहेक पानी एकादेशको कथा बनेको छ । रातु नदीमा माछा मारेर जीविकोपार्जन गर्ने माझी समुदायले पनि पानी सुकेपछि परम्परागत पेसा परिवर्तन गरेका छन् ।

‘हामीले देख्दासम्म रातुको कञ्चन पानीमा दिनभरि माझीहरू जाल फ्याँकिरहेका भेटिन्थे,’ ८४ वर्षीय राम अधिकारीले विगत सम्झिँदै भने, ‘अहिले त मलाई यो सबै सपनाजस्तो लाग्छ ।’

रातुको मुहान भएको ठाउँ उत्तरी क्षेत्रमा समेत पानीको संकट बढ्दै गएको छ । अझ दक्षिणी देहातका गाउँहरूमा पानी नआएपछि इनार र हाते पम्पहरू धमाधम सुक्न थालेका छन् ।

‘रातु पानीको खानी मात्र होइन, सभ्यता पनि हो’

रातु नदीको सभ्यताको विषयमा जर्मन नागरिक गुड्रन कार्बिनले गरेको खोज अनुसन्धान मात्र होइन, १७६८ को दशकमा तत्कालीन फिरंगीका सेनापति किनलकले आफ्नो हस्तलिखित डायरीमा व्यक्त गरेको भावनाले पनि रातु नदी नेपालको गौरवपूर्ण सम्पदा भएकामा दुईमत छैन ।

जगदीश घिमिरेले ‘सिन्धुली र मकवानपुर विजय’ भन्ने एक लेखमा समेत रातु नदीको वर्णन गरेका छन् । उनले किलनकको डायरीबाट किलनकको भावनालाई यसरी उल्लेख गरेका छन्, ‘रातु नदीको बगरमा खोला बग्थ्यो । त्यहाँको भलले निकै हतियार र रासन बगायो ।’

‘हामीले देख्दासम्म रातुको कञ्चन पानीमा दिनभरि माझीहरू जाल फ्याँकिरहेका भेटिन्थे,’ ८४ वर्षीय राम अधिकारीले विगत सम्झिँदै भने, ‘अहिले त मलाई यो सबै सपनाजस्तो लाग्छ ।’

यसले पनि रातु नदीको पहिलेको अवस्थालाई चित्रण गर्छ । किलनकको उक्त डायरीमा अगाडि भनिएको छ– ‘मैले हतियार पारि लैजाने अर्डर दिएँ । म पनि खोला तर्न लागेँ । मलाई २५ गजजति बगायो, धन्न बाँचेँ ।’

२४ सय जवानको नेतृत्व गर्दै सन् १७६८ अगस्ट २६ मा पटना छाड्दै नेपाल आक्रमण गर्न आएका फिरंगीहरूलाई रातु नदीले पनि हतोत्साहित बनाएको थियो भन्ने किलनकको डायरीले आफैँ प्रमाणित गरेको छ ।

उनले अगाडि आफ्नो भावना पोखेका छन्– ‘मलाई लाग्यो, मेरो अब अभियान नै सकियो । बिहानको दृश्य झन् दर्दनाक थियो । मेरो अधिकांश ब्यागेज बग्यो । मेरा अफिसर र सिपाहीहरूको झन् बेहाल भयो । सारा हतियार बगेका र बिग्रेका थिए । एक दिनको रासन बग्यो । ४ जना डुबेर मरे ।’

अझ कार्बिनले त १० वर्ष यसै क्षेत्रमा पाल टाँगेर बसेर खोज नै गरेकी छिन् । रातु नदीको सभ्यता १० हजार वर्ष पुरानो भएको उनले निष्कर्ष निकालेकी थिइन् । रातु नदीको उत्तरवर्ती क्षेत्र पाटु गाउँमा १० हजार वर्ष पुरानो मानवीय हतियार कारखानासमेत रहेको आफ्नो किताब (प्रिहिस्टोरिक कल्चर्स इन नेपाल’, भोलुम १, पृष्ठ २३९, सन् २००७) मा उल्लेख गरेकी छिन् ।

यसले पनि रातु नदीले हजारौँ वर्ष पुरानो गौरवपूर्ण विरासत बोकेको अनुमान लगाउन सकिन्छ ।

सन् १९८५ अर्थात् ३८ वर्षपहिले जर्मन नागरिक कार्बिनले गरेको खोजका क्रममा रातु वरपर पाटु गाउँमा भेटिएका पुराना हतियारका अवशेषले रातु नदी मानव सभ्यताको आफैँमा इतिहास भएको प्रष्ट हुन्छ ।

विश्वमा नै नदीका तटीय क्षेत्रमा नै मानव सभ्यताको जन्म भएको पाइन्छ । उदाहरणका लागि इराकमा युफ्रेटस र टिग्रिस नदी, इजिप्टको नाइल, पाकिस्तानको इन्दु नदी, चीनको ह्वाङ हो नदी र अमेरिकाका नदी किनारहरूमा मुख्य मानव सभ्यता विकास भएको पाइन्छ ।

तर, कार्बिनले गरेको खोज र अनुसन्धानले रातु नदीमा १० हजार वर्ष पुरानो मानव सभ्यता जन्म भएको विषय आफैँमा थप खोजीको विषय बन्नुपर्ने स्थानीय बताउँछन् ।

कार्बिनका अनुसार हतियार कारखानाको अवशेष खोला किनार नजिक भर्खरभर्खर फँडानी गरेको भिरालो ठाउँमा थियो । नजिकै ढुंगे युगका मानवले बनाएका सामान र सामग्री बनाउन प्रयोग गरिने ढुंगाका टुक्राहरू हजारौँको संख्यामा थिए ।

२४ सय जवानको नेतृत्व गर्दै सन् १७६८ अगस्ट २६ मा पटना छाड्दै नेपाल आक्रमण गर्न आएका फिरंगीहरूलाई रातु नदीले पनि हतोत्साहित बनाएको थियो भन्ने किलनकको डायरीले आफैँ प्रमाणित गरेको छ ।

जमिनमा भने तिनीहरू ३० देखि ७० सेन्टिमिटर मुनि रातो माटोमा पनि थिए । अचम्म त ती हतियारको स्वरूप भारतमा पाइएका मध्यपाषणकालको जस्तो थिएन । तिनको बनावट भियतनाममा पाइएका मध्यपाषणकालमा बनेकासँग मिल्दोजुल्दो भएको हुनाले महोत्तरीमा मानव भारततर्फबाट नभई दक्षिणपूर्वतर्फबाट मानिस आएका थिए भन्ने संकेत गर्छ ।

रातु नदीको विषयमा थप खोज र अनुसन्धान गरिरहेका पूर्वशिक्षक केदार कोइराला मानवका अनियन्त्रित गतिविधि, चुरे दोहन र नदीजन्य वस्तुको तस्करीले समस्या विकराल बन्दै गएको बताउँछन् ।

रातु नदी महोत्तरीका लागि, मानवका लागि सबथोक भएको थाहा पाउँदा–पाउँदै पनि नदीजन्य वस्तुको उत्खनन स्थानीय निकायहरूले व्यवस्थित गर्न नसक्दा संरक्षणमा थप चुनौती देखापरेको छ । समाजशास्त्री तथा मानवशास्त्रीहरूले आयोजना गरेको एक कार्यक्रममा सहभागी भएर फर्किएका केदार कोइरालाका अनुसार सहभागीहरूले रातु सभ्यताको विषयमा निकै चासो देखाएका थिए

रातु सभ्यताको विषयमा अझ कार्बिनले १० हजार वर्ष पुरानो मानव सभ्यता भएको निष्कर्ष निकालेपछि देशैभरका मानवशास्त्री तथा अनुसन्धानकर्ताहरूका लागि थप रहस्यमय बनेको छ । पत्रकार कमल मादेनले लेखेको लेखमा रातु नदीको मानव सभ्यता, जहाँ ढुंगे युगको हतियार कारखाना रहेको उल्लेख गरेका छन् । कार्बिनले यसको विषयमा विश्वलाई सविस्तार वर्णन गरे पनि नेपालमा यसको थप अनुसन्धान हुनुपर्ने विषयलाई उनले जोड दिएका छन् ।

अर्का खोजकर्ता तथा पत्रकार राकेश चौधरीले आफ्ना प्रकाशित किताबहरूमा रातु नदीको सभ्यताको विषयमा वर्णन गरेका छन् ।

अहिले रातु वरपर ५० भन्दा बढी क्रसर उद्योग छन् । दिनहुँ हुने दोहनले रातु खिइएको मात्र छैन, मानवलाई जिउन प्रदान गर्ने अनेक स्रोतहरू एकादेशको कथा बनेका छन् । नदीजन्य उत्खनन गर्ने संगठित गिरोहलाई निषेध गर्नुको सट्टा सरोकारवाला निकायबाट हुने प्रोत्साहनले समस्या र चुनौतीको थुप्रो लागेको छ ।

टेर्दैनन् क्रसर उद्याेग

रातु नदीलाई केन्द्रित गरेर खोलिएका क्रसर उद्योग मात्र ४१ वटाभन्दा बढी छन्, जसलाई नियमन गर्न नसक्दा दोहनको दायरा थप बढ्दै गएको छ । विज्ञहरूका अनुसार मापदण्डविपरीत नदी उत्खनन गर्दा पानीको सतह थप मुनि भासिने र पानीको समस्या बढ्दै जाने उनीहरूको चिन्ता छ ।

चुरे विज्ञ विजय सिंह चुरे सबैभन्दा बढी पानीको खानी हुँदा पनि मनपरी दोहनले समस्या थपिँदै गएको बताउछन् । यसमा पनि सबैभन्दा बढी क्रसरको आडमा तस्करी गर्ने संगठित गिरोह बढी सक्रिय देखिएको छ । कतिपय भूमिमाफियाहरूले पनि दोहनलाई मलजल गरिरहेको चुरे विज्ञहरू बताउँछन् ।

रातु नदी महोत्तरीका लागि, मानवका लागि सबथोक भएको थाहा पाउँदा–पाउँदै पनि नदीजन्य वस्तुको उत्खनन स्थानीय निकायहरूले व्यवस्थित गर्न नसक्दा संरक्षणमा थप चुनौती देखापरेको छ ।

चुरे क्षेत्रको खोज तथा अनुसन्धानमा जुटेका चुरेविद् सिंहले चुरे विनाश र मापदण्डविपरीतको उत्खननले नै पानीको समस्या बढ्दै गएको निष्कर्ष निकालेका छन् । तर, अझै पनि चुरेको पानीलाई होल्ड गरेर सञ्चित गर्ने हो भने माथिल्लो सतहमा पानी नभए पनि भित्री सतहमा प्रचुर मात्रामा पानी भएको उनी बताउँछन् ।

सिडिएफनको उदाहरणीय कार्य

नदी प्रणाली तथा रातु नदीको विषयमा लामो खोजसहित योजना निर्माणमा जुटेको सामुदयिक विकास तथा पैरवी मञ्च (सिडिएफएन) को कार्य सकारात्मक बनेको छ । चुरेको पानीलाई ठाउँठाउँमा होल्ड गरी रातु नदीको तटीय क्षेत्रमा मात्र २५० भन्दा बढी पोखरी निर्माण गरिएको छ ।

जसको निर्माणले पारिस्थितिक प्रणालीलाई समेत सन्तुलित बनाएको संस्थाका अध्यक्ष नागदेव यादव बताउँछन् । इसिमोड, युएनडिपी जस्ता संस्थाका कारणले रातुको पानी सञ्चित गरेको हुनाले पाटुसम्म सिँचाइको सुविधासमेत यथावत रहेको संस्थाको दाबी छ ।