सामुदायिक विद्यालयले तिरेन उधारो, ५ वर्षमा ब्याज पुग्यो १५ लाख

सामुदायिक विद्यालयले तिरेन उधारो, ५ वर्षमा ब्याज पुग्यो १५ लाख


रुकुम ।

रुकुमपश्चिमको एक सामुदायिक विद्यालयमा ताला लगाइएको छ ।

सानीभेरी गाउँपालिका–७ फुक्रुमा रहेको जनज्योति आधारभूत विद्यालय ताला लगाइएको हो ।

विद्यालय भवन निर्माण गर्दा लिएको निर्माण सामग्रीको भुक्तानी नपाएपछि व्यावसायीले ताला लगाएका हुन् ।

सानीभेरी हार्डवेयरका सञ्चालक मनीषा बिसी ओलीले २०७५ सालमा विद्यालय भवन निर्माणका लागि लिएको सामग्रीको भुक्तानी नपाएकाले तालाबन्दी गर्न बाध्य भएको बताइन् । समितिले लगेका सरिया, सिमेन्ट, रङ लगायतका निर्माण सामग्रीको रकम विद्यालयले अहिलेसम्म पनि भुक्तानी नगरेको उनको भनाइ छ ।

विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ । यस अघि पनि ताला लगाउन खोज्दा गाउँपालिका र स्थानीयले केही दिनमा रकमको व्यवस्था गर्ने आश्वासन दिए पनि अहिलेसम्म रकम नपाएपछि विद्यालयमा ताला लगाइएको हार्डवेयर सञ्चालक ओलीले जानकारी दिइन्। रकम नपाएसम्म तालाबन्दी नखोल्ने उनको अडान छ ।

विद्यालयको भवन निर्माणमा केही रकम पहिले दिए पनि करिब ९ लाख रकम बाँकी रहेको र हालसम्म ब्याज जोडेर १४ लाख ९० हजार रुपैयाँ पुगेको उनको भनाइ छ ।