हिजो मन्त्रीको भाग पुगेन भन्ने गगनकाे स्टन्ट : कांग्रेसका सबै मन्त्री फिर्ता बोलाऊँ

हिजो मन्त्रीको भाग पुगेन भन्ने गगनकाे स्टन्ट : कांग्रेसका सबै मन्त्री फिर्ता बोलाऊँ

'प्रदेशकाे काम छैन, हामीले नै पंगु बनाइदिएका छौँ'


काठमाडौँ ।

आइतबार कांग्रेस रूपान्तरण अभियान बाग्मतीले आयाेजना गरेकाे विचार गाेष्ठी कार्यक्रममा महामन्त्री गगनकुमार थापाले अचम्मको कुरा गरे । उनले सरकारबाट पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने र माओवादीसहितको समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन दिनुपर्ने प्रस्ताव गरे ।

उनले भनेका थिए, ‘यो दुई–अढाई वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ । प्रचण्डजी र त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने कुरा छ । कांग्रेसका मन्त्रीहरू सबै फिर्ता बोलऔँ । दुई–अढाई वर्ष उहाँहरूलाई एक्लै चलाउन दिऔँ । हामी फ्लोरबाट समर्थन गरौँ ।’

त्यसपछिको दुई–अढाई वर्ष कांग्रेसले एक्लै सरकार चलाउन पाउनुपर्ने र त्यो एक्लै हुँदा जस भए पनि अपजस जे भए पनि कांग्रेसले लिनुपर्ने उनको तर्क थियो । यसले गर्दा आ–आफ्नो सरकारको बेलामा भएको जस अपजस आ–आफ्नै पार्टीले पाउने धारणा थापाको थियो ।

सुन्दा त थापाको कुरा साह्रै राम्रो सुनिन्छ । गगन थापा कति उदार भएका जस्तो पनि लाग्छ । तर, उनको त्यो भनाइ भाषणको कुनै पाटो र चतुर्‍याइँ मात्र थियो कि साँच्चै नै उनी त्यही चाहन्छन् भन्ने कुरा सायद उनलेबाहेक अरू कसैले छुट्याउन सक्दैन ।

उनको कुरालाई स्वागतयोग्य प्रस्ताव भन्दै वाह ! युवा नेता भनेर उनको ‘ज्यूज्यू’ नै चाहिँ गर्नैपर्छ भन्ने देखिँदैन । किनकि उनी तिनै नेता हुन्, जो मन्त्रिपरिषद् विस्तार गर्दा आफूले मागे जति मन्त्रीको भाग आफ्नो थालमा परेन भन्दै आफ्नै गुटका नेता शेखर कोइरालासँग रुष्ट बनेका थिए । मन्त्रीका लागि आफ्नै गुटका साथीसँग रुष्ट हुने थापाको त्यो अभिव्यक्ति पक्कै पनि भिडमा तालीका लागि निस्किएको एउटा फगत हरफ मात्र हो भन्दा फरक नपर्ला ।

यति भनिरहँदा उनले अघि सारेको विचार भने अत्यन्तै राम्रो छ । भद्रगोल गरी बनेको गठबन्धन र त्यसभित्र पनि तँछाडमछाड गर्दै आएका मन्त्रीभन्दा कुनै एक दलले पूर्ण रूपमा निश्चित समयका लागि सरकार सञ्चालन गर्न पाउने कुरा शतप्रतिशत ठिक हो ।

तर, सत्तामा लुप्त हाम्रा राजनीतिक दलका नेताहरूबाट त्यो सम्भव छ त ? अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने कुनै सम्भावना छैन । कुनै एउटा दलको सरकार हुँदा त छाया सरकार बनाएर देखावटी गर्ने यहाँको चलनमा गठबन्धन गर्दा पनि मन्त्री पाएनन् भने त झन् अवस्था के होला ?

कार्यक्रममा महामन्त्री थापाले २०८४ को चुनावमा कांग्रेसले गठबन्धन नगर्नेसमेत बताए । उनले भने, ‘८४ मा चुनावी गठबन्धन हुँदै हुँदैन । कांग्रेसभित्र कुरै गर्न पाउँदैन ।’

उनले अहिलेको प्रदेशको काम नभएको समेत बताए । उनले कानुन नबनाएकाले प्रदेश प्रभावकारी बन्न नसकेको बताए । उनले भने, ‘प्रदेश कामकाजी छैन । हामीले कानुन बनाएका छैनौँ । कार्यालय राखिदिएका छौँ । पंगु बनाइदिएका छौँ ।’

उनले अगाडि भने, ‘मुख्यमन्त्री माओवादीले सरकार ढाल्ने भयो बनेर मन्त्रालय फुटाउन के गर्ने भनेर काठमाडौँमा हुनुहुन्छ रे । म खोजिरहेको छु । हिजो केन्द्रीय समितिबाट निर्णय गरेका होइनौँ ? यस्ता मुख्यमन्त्री गए जाओस् तर मन्त्रालय थप्दिनँ भन्न सक्नुपर्छ ।’ उनले अहिलेको समानुपातिक प्रणालीप्रति पनि आक्रोश पोखे । उनले भने, ‘बार्दलीबाट यसो हेर्‍यो तपाईं चाहिँ सांसद भन्यो भै त हाल्यो । यस्तो प्रणालीले चल्छ ?’