काठमाण्डौ–नमोबुद्ध टुरिङ्ग र्‍याली सम्पन्न

काठमाण्डौ–नमोबुद्ध टुरिङ्ग र्‍याली सम्पन्न


काठमाडौं ।

नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) र महिला मोटरसाइकल चालकहरुको अन्तराष्ट्रिय महासंघको नेपाल च्याप्टर विमा नेपालले उपत्यका पर्यटन कार्यालय, बागमती प्रदेश सरकारसँग मिलेर काठमाडौंदेखि नमोबुद्ध टुरिङ्ग र्‍यालीको सफल आयोजना गरेका छन् ।

सय भन्दा बढिको सहभागिता रहेको र्‍यालीको बागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उपत्यका पर्यटन कार्यालय, सानो हातिवन, ललितपुरबाट सुभारम्भ गरेका थिए ।

मोटरसाइकल, मोटरिष्ट र युवालाई आन्तरिक पर्यटनसँग जोडन आवश्यक साथ र सहयोग गर्न बागमती प्रदेश सरकार, पर्यटन तथा सहकारी मन्त्रालय तयार रहेको मन्त्री महर्जनले प्रतिबद्दता जनाएका थिए ।

विश्व पर्यटन दिवसका अवसरमा टुरिजम एण्ड ग्रिन इन्भेष्टमेन्ट भन्ने मुल नारा सहित आयोजना गरिएको र्यालीमा इलेक्ट्रिक स्कुटर, बाइक, स्कुटर तथा विशेष क्षमताका व्यक्तिले चलाउने ३ पांग्रे स्कुटरको समेत उल्लेखनिय सहभागिता रहेको थियो ।

बागमती प्रदेशमा अनगिन्ती पर्यटकिय स्थल रहेको र  र्‍याली जस्ता कार्यक्रमहरुले विभिन्न पर्यटकिय स्थानको पहिचान, प्रर्वधन र प्रोत्साहन गर्न सघाउने उपत्यका पर्यटन कार्यालयका प्रमुख राजन पोखरेलले बताए ।

नासा नेपालका सचिव सन्तोष न्यौपाने तथा विमा नेपालकी संयोजक संन्जु बज्राचार्य संयोजक रहेको र्यालीले युवाहरुमा टुरिङ्ग संस्कृतिको बिकासमा टेवा पुर्‍याई आन्तरिक पर्यटनको प्रवर्धन गर्ने विश्वास आयोजक संस्था नासा नेपालले लिएको छ ।