पढ्न जाने विद्यार्थी जम्मा एकजना, शिक्षक ३ जना

पढ्न जाने विद्यार्थी जम्मा एकजना, शिक्षक ३ जना


पर्वत ।

पर्वतका सामुदायिक विद्यालय विद्यार्थीविहीन बन्दै गएका छन् ।

अवसरको खोजीमा गाउँबाट बसाई सर्नेक्रम बढेपछि विद्यालय खाली हुँदै गएका हुन् ।

यस्तै समस्या रहेको छ, कुश्मा नगरपालिका–१२ ठूलीपोखरीको अर्जिकोटस्थित सहिद शुक्र आधारभूत विद्यालयमा कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयको ३ वटा भवनमा ८ वटा कक्षाकोठा छन् ।

३ शिक्षकको दरबन्दी रहेको सो विद्यालयमा एक सहायक कर्मचारीसमेत रहेका छन् तर मा विद्यार्थी भने १ जना मात्र छन् ।

कक्षा १ मा पढ्ने एक छात्राबाहेक विद्यार्थी नै छैनन् । ३ जना शिक्षकले दिनभर ति एउटी छात्रालाई रुघेर बस्नुपरेको छ । शिशुकक्षा, कक्षा २, ३, ४, ५ पूरै खाली रहेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद तिवारीले बताए ।

कुनै समय २५÷३० जनासम्म एउटै कक्षामा विद्यार्थी भएकामा अहिले विद्यार्थी सङ्ख्या न्यून रहेको उनको भनाइ थियो । १÷२ जना विद्यार्थी भए पनि आफूहरु नियमित विद्यालय आउने, हाजिर गर्ने र पढाउने काम गरिरहेको प्रधानाध्यापक तिवारीले बताए । आफूहरु गुणस्तरीय शिक्षा दिन सक्षम भए पनि विद्यार्थी नै नआएपछि के गर्ने भन्ने अन्योल रहेको उनको भनाइ थियो ।

विसं २०२६ मा स्थापना भएको यो विद्यालयमा विगत पाँच वर्षयता विद्यार्थीको खडेरी लागेको हो । कक्षा पाँचसम्म यो विद्यालयमा अध्ययन गर्ने र कक्षा ६ देखि सोही वडामा रहेको जनता सुदर्शन मावि वा त्रिभुवन आधारभूत विद्यालयमा जाने गरेको भए पनि विद्यार्थी नै नहुँदा विद्यालय नै संकटमा पर्दै आएको कार्यालय सहयोगी नारायण गौतमले बताए ।

विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको छ, कतै विद्यालय नै खारेज हुने पो हो कि भन्ने सम्भावना बढ्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर केसीले बताए । उनले भने, “स्कुलका भवन देखेर टिठ लाग्न थालेको छ । गाउँमा वृद्धवृद्धाबाहेक कोही पनि नहुँदा यस्तो समस्या आएको हो ।” “गाउँमा रहेका अधिकांश घर खाली भइसकेका छन् । मान्छे भएका घरमा पनि वृद्धवृद्धाबाहेक कोही छैनन्”, अध्यक्ष केसीले भने, सदरमुकाम कुश्माबजारबाट एक घण्टा पैदल यात्रा र सवारीसाधनमा १५ मिनेटमै पुगिने यस विद्यालयको अवस्था दयनीय बन्दै गएको छ ।”

विद्यार्थी अभावमा शिक्षकले कार्यालयको कोठा र अर्को एक कक्षाकोठा मात्र खोलेर सञ्चालन गर्दै आएका छन् । बाँकी ६ वटा कक्षाकोठाका कुर्ची, र बेञ्च मर्मतको अभावमा जीर्ण बन्दै गएका छन् । कक्षाकोठामै झार उम्रिन थालेको स्थानीयवासी रुद्र केसीले बताए।

कुश्मा नगरपालिका–१२ का अध्यक्ष झलकप्रसाद रिमालले यो विद्यालय मात्र नभई वडामा रहेका अन्य आधा दर्जन विद्यालयमा पनि विद्यार्थीको संख्या न्यून रहेको बताए । गाउँबाट बढ्दो बसाइँसराइका कारण विद्यालय खाली हुँदै गएको उनको भनाइ थियो ।

विद्यार्थी नभएपछि साना बालबालिकाका लागि इसिडी कक्षा मात्र राखेर अन्य कक्षाकोठा मर्ज गर्नुपर्ने भएकाले यस विषयमा आफूले पहल गर्ने वडाध्यक्ष रिमालको भनाइ थियो ।