बाढीले जीपसँगै बगाएकाको ३ दिनदेखि खोजी जारी

बाढीले जीपसँगै बगाएकाको ३ दिनदेखि खोजी जारी


पर्वत ।

तमादी खोलामा आएको बाढीले बगाएर शनिबार रातिदेखि जीपसँगै बेपत्ता भएकाको खोजी जारी छ ।

बाग्लुङदेखि पोखरा जाँदै गरेको ग १ ज ६२१३ नम्बरको टाटा सोमु जीप तमादी खोलाको बाढीले बगाएको थियो ।

पर्वत प्रहरीका अनुसार बेपत्ता भएका ३ मध्ये एक जनाको शव फेला परेको छ भने अन्य २ जनाको खोजी जारी भए पनि अझै फेला पार्न सकिएको छैन ।

परिवारका सदस्य पनि प्रहरीसँगै खोला किनारमा बेपत्ताको खोजीका लागि हिँडेका छन् । बाग्लुङ–पोखरा राजमार्गस्थित पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा पर्ने स्थानमा शनिबार साँझ तमादीखोलाले जीप बगाएको थियो ।

गुड्दै गरेको जीप ओट लागेर रोकिएपछि चालक वसन्तबहादुर थापा जीपबाट झरेका थिए । चालक थापाका अनुसार ओट हटाउँदै गर्दा एक्कासि बाढी आएर जीप बगाएको थियो भने चालक दौडिएर सुरक्षित स्थलमा गई बाँच्न सफल हुनुभएको थियो ।

गाडीमा सवार तीन जना बेपत्तामध्ये तिलोत्तमा नगरपालिका–९ घर भएका ३४ वर्षीय गोपाल बस्यालको शव मोदीखोलाको दोभान छेउमा शनिबार राति १२ बजे फेला परेको थियो । मृतक बस्यालको शव पोष्टमार्टमपछि आफन्तले बुझेको प्रहरीले जनाएको छ ।

यसैगरी, बेपत्ता रहेका ताराखोला गाउँपालिका ३ बागलुङका ५० वर्षीय डम्बरबहादुर थापा र २७ वर्षीय विजय भनिने माधव पौडेलको खोजी कार्य जारी रहेको प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भुसालले बताए ।

प्रहरी प्रमुख भुसालका अनुसार गाडी टुक्रा–टुक्रा अवस्थामा करिब ७ सय मिटर पर मोदीखोलाको दोभानमा भेटिएको थियो । गाडीको मालिकसमेत रहेका चालक वसन्तबहादुर थापालाई सवारी ऐन अनुसार कारवाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार पनि बेपत्ताको खोजी र उद्धारमा प्रहरी, सशस्त्र र आर्मीको संयुक्त टोली परिचालन गरिएको छ । प्रहरी प्रदेश कार्यालयबाट बोलाइएको तालिमप्राप्त कुकुरसहित आएको अनुसन्धान टोलीले खोजी कार्य गर्दासमेत बेपत्ता भेटिएका छैनन् ।