स्याङ्जा अस्पतालमा झण्डै ४० हजार बिरामीको उपचार

स्याङ्जा अस्पतालमा झण्डै ४० हजार बिरामीको उपचार


स्याङ्जा ।

जिल्ला अस्पताल स्याङ्जाबाट झण्डै ४० हजार नागरिकले स्वास्थ्य उपचार सेवा लिएका छन् । आर्थिक वर्ष २०७९/०८० को अवधिमा अस्पतालबाट ३९ हजार तीन सय ७० जना नागरिकले उपचार सेवा लिएका हुन् ।

स्वास्थ्य उपचार गर्नेमा ओपिडी तर्फ ३३ हजार एक सय ३३ छन् भने ईमर्जेन्सीमा ५ हजार दुई सय ९३ जनाले सेवा लिएको जिल्ला अस्पतालको तथ्याङ्मा उल्लेख छ । अस्पतालबाट उपचार सेवा लिनेमा ६५ प्रतिशत अर्थात २५ हजार भन्द बढि स्वास्थ्य बीमा गरेका नागरिक छन् ।

यस अवघिमा एक सय ४८ जना महिलाले सुरक्षित गर्भपतन गएका छन् । तीन सय ९० महिलाले प्रसूति सेवा लिएकोमा ९४ महिलाको शल्यक्रिया मार्फत सुत्केरी गराएको अस्पतालले जनाएको छ । अस्पताल श्रोतका अनुसार एक सय २१ एचआईभी संक्रमितले नियमित रुपमा एआरटी प्रयोग र १५ जनाले मिर्गौला डायलासिस गदै आएका छन् ।

नवौं तहको अस्पताल प्रमुख र दुई मेडिकल अधिकृतसहित २५ जनाको स्थायी दरबन्दी रहेको अस्पताल २५ शैयाकै छ । २५ शैयाको अस्पताल भएपनि १५ शैयालाई थेग्ने जनशक्ति परिचालन गरेर सेवा प्रबाह गर्दै आएको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) रुक्मिना अधिकारीले बताईन् ।

“जनसंख्या र सेवा क्षमता बृद्धि हुँदै गएपनि आवश्यक जनशक्ति नहुँदा अपेक्षित सेवा प्रदान गर्न असहज भएको छ ।” मेसु अधिकारीले भनिन्, “अस्पतालमा स्थायी दरबन्दी २५ जनाको भएपनि १४ जनाले मात्रै सेवा प्रदान गर्न बाध्य छौं ।” अस्पतालमा कार्यक्रम करारमा १८, अस्पताल व्यवस्थापन समिति अन्र्तगत १८, प्रदेश सरकार मार्फत १६ र छात्रबृत्ति कारार तर्फ ८ जना स्वास्थ्यकर्मी खटिएको मेसु अधिकारीले जानकारी दिईन् ।

कुनै समय बिरामी नै नआउने अस्पतालमा पछिल्लो क्रममा सेवा सुधारसँगै अहिले दैनिक १५० भन्दा बढी बिरामी आउने गरेको छन् । जिल्ला अस्पतालमा स्याङ्जा, कास्की, पर्वत र तनहुँका सर्वसाधारणले सेवा लिदै आएको अस्पताले जनाएको छ ।

अस्पतालले पछिल्लो समय गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ । एमजीडीपी, बहिरङ्ग, शल्यक्रिया, मिर्गौला डायलासिस, मातृशिशु तथा प्रसूति सेवा, आँखा, दाँत, भिडियो एक्सरे, स्वास्थ्य बीमा, अपाङ्गता सहायता कक्ष र एकद्वार सङ्कट व्यवस्थापन र चौबीसै घण्टा आकस्मिक सुविधा उपलब्ध गराउँदै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ईन्द्रबहादुर गोदारले बताए ।

जिल्ला अस्पताल स्याङ्जाले ११ महिनापछि हालै मात्र अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) पाएको हो । पर्वत जिल्ला अस्पतालबाट सरुवा भई आएकी डा.रूक्मिना अधिकारीले कार्यभार सम्हालेपछि अस्पतालले सहज सेवा उपलब्ध गराउँदै आएको छ । ११ महिनासम्म अस्पतालमा कार्यरत वरिष्ठ नर्स कृष्णकुमारी कार्कीले निमित्त भई संचालन गर्दै थिईन् ।