जमुनाहा भन्सार नाकामै वाणिज्य संघ कार्य समितिको आकस्मिक बैठक

जमुनाहा भन्सार नाकामै वाणिज्य संघ कार्य समितिको आकस्मिक बैठक


काठमाडौं ।

नेपालगन्ज उद्योग वाणिज्य संघको बाँकेको जमुनाहा भन्सार नाकामै कार्य समितिको आकस्मिक बैठक बसेको छ ।

मंगलबार बाँकेका उद्योगी व्यवसायीले एक घण्टा भन्सार क्षेत्रको अवलोकन भ्रमण गर्दा देखिएका कमी कमजोरी सुधार्न संघले कार्य समितिको आकस्मिक बैठक डाकेको प्रवक्ता डम्बरबहादुर चन्दले जानकारी दिएका हुन् ।

प्रवक्ता चन्दका अनुसार संघको बैठकले सीमावर्ती रुपैडियामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जस्तै जमुनाहा नाकामा पनि भारत प्रवेश गर्दा र भारतबाट नेपाल आउँदा सबै यात्रीहरुलाई अनिवार्य रुपमा परिचय पत्रका चेकजाँच गर्ने व्यवस्था लागू गर्नुपर्ने, भारतबाट किनमेल गरेर आएका यात्रीको सामान राम्ररी चेकजाँच गरी जमुनाहा नाकाको यात्रु शाखाबाटै राजस्व संकलन गर्ने कार्यलाई प्रभावकारी बनाउनु पर्ने माग गरेको छ ।

त्यसैगरी जमुनाहा मूल नाकामा जस्तै सीमा नाकाकोे मुस्किलले एक किलोमिटरको दुरीमा आधा दर्जन भन्दा बढी तस्करी गर्ने नाकाहरु रहेको उल्लेख गर्दै ती सबै स्थानमा तत्काल ब्यारियल नै राखेर शसस्त्र प्रहरी बलको अस्थायी पोस्ट् राख्नुपर्ने र सीसीटिभी जडान गरेर कडा निगरानी गर्नुपर्ने पनि संघको माग रहेको छ ।

संघका अध्यक्ष टंकबहादुर धामीले जमुनाहा नाकामा देखिएका समस्याहरु तत्काल समाधान गर्न बैठकको निर्णयलाई नेपालगन्ज भन्सारका अधिकृत पदमराज पन्तमार्फत भन्सार विभागका महानिर्देशकलाई पाँच बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए ।

उनले भने,‘भन्सार क्षेत्रको सुधारका लागि हामी यहाँ भौतिक पूर्वाधार निर्माण देखि नीतिगत र कानुनी रुपमा सुधारका लागि प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर समस्या समाधानका लागि पहल गर्नेछौं ।’