दसैँमा चिनी अभाव नहुने, कति छ सरकारसँग मौज्दात चिनी ?

दसैँमा चिनी अभाव नहुने, कति छ सरकारसँग मौज्दात चिनी ?


काठमाडौं ।

नेपालीका ठुला चाडपर्व (दसैँतिहार र छठ) मा चिनी अभाव नहुने सरकारले जनाएको छ ।

बजारमा लगभग ५० हजार टन चिनी मौज्दात रहेकाले तत्कालै चिनीको अभाव नहुने बताइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्य विषयमा अध्ययन गर्न विभागका निर्देशकको नेतृत्वमा गठित ३ सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदनमा सोबारेमा उल्लेख गरिएको हो ।

पछिल्ला १५/२० दिनयता बजारमा चिनीको भाउ अत्यधिक वृद्धि भएपछि विभागले चिनीको मूल्य अध्ययनका लागि समिति गठन गरेर अध्ययन सुरु गरेको थियो ।

अनुगमनको प्रारम्भिक प्रतिवेदन अनुसार बजारमा पर्याप्त चिनी हुँदाहुँदै पनि कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाएको पाइएको छ ।

विभागका अनुसार अहिले बजारका विभिन्न ठाउँका गोदाममा ५० हजार टन चिनी मौज्दात रहेको पाइएको छ ।

प्रारभ्मिक प्रतिवेदनमा यस परिमाणको चिनी मौज्दात रहेको भेटिए पनि पूर्ण प्रतिवेदन आउँदा अहिलेको परिणाममा तलमाथि हुन सक्ने विभागका महानिर्देशक तीर्थराज चिलवालले जानकारी दिए ।

चिनीको मूल्य अध्ययन गर्न गठित समितिको पूर्ण प्रतिवेदन यो सातासम्म आउने उनको भनाइ छ । उनका अनुसार अध्ययन समितिले अध्ययनका क्रममा चिनीको उत्पादन लागत मूल्य, थोक मूल्य, खुद्रा मूल्यको विश्लेषण गरेर कुन तहमा भाउ महँगिएको हो, सबै हेरेर प्रतिवेदन तयार गर्ने छ ।