नियमित कक्षा सञ्चालनको माग गर्दा शिक्षकहरुले थुने विद्यार्थी

नियमित कक्षा सञ्चालनको माग गर्दा शिक्षकहरुले थुने विद्यार्थी


वीरगन्ज ।

वीरगन्जको एक विद्यालयका विद्यार्थीले नियमित कक्षा सञ्चालनको माग गर्दा शिक्षकले थुनेर राखेका छन् ।

वीरगन्ज महानगरपालिका–२४ बहुवरीस्थित शारदा माध्यमिक विद्यालयको पशु विज्ञान र कृषि संकायको कक्षा नियमित सञ्चालन गर्न माग गरेपछि विद्यार्थीलाई सोही विद्यालयका शिक्षकहरूले थुनेर राखेको घटना सार्वजनिक भएको हो ।

पठनपाठन नियमित सञ्चालन गर्न माग गरेपछि विद्यालय प्रशासनले आफूहरूलाई कुटपिट गर्नुका साथै घन्टौँ थुनेर राखेको विद्यार्थीहरूले आरोप लगाएका छन् ।

दैनिक ७ पिरियड पढाइ हुनुपर्नेमा १ पिरियडसमेत पढाइ नभएपछि विद्यार्थीहरूले महानगरको शिक्षा महाशाखामा पनि जानकारी गराएका थिए । तर कुनै सुनुवाइ नभएको विद्यार्थीहरूको गुनासो छ ।

विद्यालय प्रशासनले आफूहरूबाट सबै शुल्क असुल गरे पनि अहिलेसम्म पूरै किताबसमेत उपलब्ध नगराएका कारण दोस्रो वर्षको पहिलो सेमेस्टर परिक्षामा ११ मध्ये १ जना मात्र उत्तीर्ण भएको विद्यार्थीहरू बताउँछन् ।

कक्षा नियमित नभएकोबारे विद्यालय प्रशासनले भने प्रधानाध्यापक बिदामा रहेकाले यसबारे उनले नै जानकारी दिने जनाएको छ ।

महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यालयमा अध्यापन गराउने शिक्षकले तलब नपाएका कारण पढाइ नभएको जानकारी पाएको जनाए ।

उनले शिक्षकको सबै तलब समयमै पठाएको विद्यालयको प्रतिवेदनमा देखिएपछि छानबिन सुरु गरिएको बताए ।