डेल्टा रानी जातको धान फल्दै नफली सुक्न थाले, किसानले लगाए आगो

डेल्टा रानी जातको धान फल्दै नफली सुक्न थाले, किसानले लगाए आगो


बारा ।

कमसल बिउको कारण फल्दै नफली सुक्न थालेपछि निजगढ–९ का किसानले धानको बोट काटेर आगो लगाउन थालेका छन् ।

उन्नत जातको भनेर मंहगोमा खरिद गरेर रोपेको धानमा रोग लागेर दाना नलागे पछि चिन्तित बनेका किसानहरुले धान काटेर आगो लगाउन थालेका हुन् ।

वर्षभरी खाने र घर खर्चसमेत चलाउने भनेर लगाएको धान थारो बसे पछि आफूहरु समस्यामा परेको निजगढ–९ देउराली पथका किसान चन्द्रबहादुर श्रेष्ठले बताए । ऋण काढेर लगाएको धान फल्दै नफले पछि नोक्सानी बेहोर्नु परेको अर्का किसान छविलाल चौलागाईले बताए ।

यता निजगढ ९ का वडा अध्यक्ष रामचन्द्र कटवालले वडाका दर्जन भन्दा बढी किसानले रोपेको धानमा बाला नलागेको गुनासो आएको बताए ।

उनले मानो रोपेर मुरी उब्जाउने आशमा धान रोपेका किसानको बाली बिग्रिए पछि पीडित बनेका किसानहरुलाई राहत दिने बारेमा नगर कार्यपालिकामा आफूहरुले छलफल गरेर निर्णय गर्ने बताए ।

बिक्रेताले अन्य बिउले भन्दा बढी उत्पादन दिने बताए पछि यहाँका दर्जनौं किसानले डेल्टारानी जातको बीउ खरिद गरेर रोपेका थिए ।