भूकम्प अपडेट : ५ जना घाइते, पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

भूकम्प अपडेट : ५ जना घाइते, पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध


बझाङ ।

मंगलबार दिउँसो गएको भूकम्पले बझाङमा प्रहरी कार्यालय र स्कुलका भवनसहित केही घर भत्किएका छन्।

कपाली खोलामा पहिरो जाँदा जयपृथ्वि राजमार्ग अवरुद्ध भएको छ। अहिलेसम्म ५ जना घाइते भएको जानकारी आएको बझाङ प्रहरीले जनाएको छ।

प्रहरी कार्यालयको पर्खाल भत्किएको छ, भने बाल विकास माविमा पनि क्षति पुगेको छ।

विद्यालय समयमा भूकम्प आउँदा विद्यार्थीहरू भागाभाग हुँदा केही सामान्य घाइते समेत भएका छन्।

भूकम्पपछि स–साना पराकम्पहरु समेत आइरहेकाले त्रासको अवस्था देखिएको छ ।

व्यवसायीहरुदेखि सर्वसाधारणसम्म अहिले खुला ठाउँमा भेला भएर बसिरहेको बताइएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायण पाण्डेयले आफूहरु भूम्कपबाट भएको क्षतिबारे विवरण लिने क्रममा रहेको बताएका छन् ।

खोड्पे–चैनपुर सडकको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ को कचरी खोलामा सुख्खा पहिरो आएर सडक अवरुद्ध भएको बताइएको छ ।

आज दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।