कहिले बनिसक्छ विराटनगर–धरान सडक ?

कहिले बनिसक्छ विराटनगर–धरान सडक ?

विकास टाइम्स
108
Shares

काठमाडौँ ।

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–धरान मार्ग विस्तार योजना आर्थिक वर्ष २०६९/७० देखि सुरु भएको थियो । ४९ किलोमिटरको यो सडक आयोजनाका लागि सुरुको वर्षमा करिब ५ किमीको मात्र ठेक्का लागेको थियो भने करिब १० वर्षसम्म ८५ प्रतिशत काम भएको छ ।

आयोजना कार्यालयका अनुसार अबको १ वर्षभित्र निर्माण सक्ने योजना छ । यसरी हेर्दा जम्मा ४९ किमीको सडक बनाउन ११ वर्ष लाग्ने देखियो । त्यो पनि यदि कार्यालयले भनेको १ वर्षमा सकियो भने मात्र । होइन भने अझै कति वर्ष लम्बिने हो कुनै ठेगान छैन ।

सडक अहिलेसम्म ८५ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको रानी–विराटनगर–इटहरी–धरान सडक विस्तार आयोजनाका प्रमुख दानकुमार शाक्यले जानकारी दिए । २०६९/०७० देखि काम सुरु भएको सडक १५ वटा टुक्रामा ठेक्का लागेर काम भइरहेको छ ।

सडकको ४९ किलोमिटरमध्ये ४४ किलोमिटर विस्तारको काम थालिएको थियो । ४२ किलोमिटरको ठेक्का लागेकोमध्ये ३७ किलोमिटर सडकको निर्माण सम्पन्न भइसकेको छ ।

सडकखण्डमा पर्ने बुढी खोला र सेउती खोलामा पुल निर्माणको क्रममा छ भने धरान बजारमा ५ किमी क्षेत्रमा अहिलेसम्म ठेक्का लाग्न सकेको छैन । तर, पनि आयोजना प्रमुख शाक्यका अनुसार आर्थिक र भौतिक प्रगति करिब ८५ प्रतिशतभन्दा माथि छ ।

२०७५/०७६ मा नै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना १० वर्ष बित्न लाग्दा पनि ८५ प्रतिशत मात्र काम हुनुले नेपालको विकासको गतिलाई प्रस्ट्याउँछ ।

विस्तारको याजनामा मुआब्जा, विस्तारको मापदण्डलगायत विषयमा विवाद हुँदा आयोजनाको विषयमा अदालतमा मुद्दा परेको थियो भने अहिले पनि कतिपय मुद्दा विचाराधीन अवस्थामै छन् ।

आयोजनाकी सूचना अधिकारी प्रियंका झाका अनुसार कतिपय मुद्दामा अदालतले आदेश दिएको अवस्था छ भने कतिपय मुद्दाको किनारा लाग्न बाँकी छ । मुद्दा किनारा नलागे पनि स्थानीय सरकारसँगको समन्यवमा काम गरिएको झा बताउँछिन् ।

‘कतिपय ठाउँमा समस्या थियो, त्यसलाई हामीले समाधान गर्दै लगेका छौँ,’ उनले भनिन्, ‘कतिपय मुद्दा बाँकी भए पनि हामीले स्थानीय सरकारसँग समन्यव गरेर काम अगाडि बढाएका छौँ ।’

५ वर्षको योजना १० वर्षमा पनि सकिएन

आव ०६९/७० मा रानी–विराटनगर–इटहरी–धरान सडक योजना कार्यालयको स्थापना भएको थियो । सो वर्ष ५ किलोमिटर मात्र विस्तार गर्ने गरी ठेक्का लागेको आयोजनाकी सूचना अधिकारी झा बताउँछिन् ।

उनका अनुसार विभिन्न प्याकेजमा गरी १७ वटा सडक निर्माण तथा २ वटा पुलको गरी जम्मा १९ वटा ठेक्का लागेको छ ।

आयोजनाको कार्यालय स्थापना हुँदा आव २०७५/०७६ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर, त्यसो हुन सकेन । परिणाम स्वरूप पटक–पटक यसको म्याद थप गरियो । पछिल्लो म्याद अनुसार गत असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने भनिएको थियो । तर, म्याद सकिएको ३ महिना बितिसक्दा पनि ८५ प्रतिशत मात्र भौतिक प्रगति भएको देखिन्छ ।

उता भुक्तानीतर्फ भने आयोजना सहज अवस्थामा देखिन्छ । अहिलेसम्म यो आयोजनाको कुनै पनि खण्डमा भुक्तानी नभएर काम रोकिएको अवस्था देखिएको छैन । काम गरेका ठेकेदारहरूको पनि भुक्तानी रोकिएको छैन ।

आयोजनाका अनुसार निर्माण सम्पन्न गरेका सबै निर्माण व्यवसायीको भुक्तानी भएको छ । अहिलेसम्म करिब ७ अर्ब ५७ करोड रुपैयाँ भुक्तानी भइसकेको देखिन्छ ।

अरू विकासका आयोजनाहरूमा लागत वृद्धि भइरहेको अवस्थामा यो आयोजनामा भने लागत घटाएको देखिन्छ । आयोजनाको सुरुमा १० अर्ब ९८ करोडको लागत अनुमान गरिए पनि पछि त्यसको अनुमान घटाइएको थियो । पुनः लागत अनुमान गर्दा यस आयोजनामा ८ अर्ब ६५ करोड रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ । जे होस् समय लामो लिए पनि यसमा अरू आयोजनाजस्तो लागत बढाइएको छैन ।

आयोजना सुरु भएको १० वर्ष देखिए पनि विभिन्न चरणमा ठेक्का लागेका कारण निर्माण प्रक्रिया ढिला भएको झा बताउँछिन् । ‘कार्यालय स्थापना भएको वर्ष २ वटा ठेक्का ५ किलोमिटरको मात्र लागेको थियो,’ झाले भनिन्, ‘दुहबी खण्डको ठेक्का केही समयअघि मात्र लागेको छ ।’

विभिन्न खण्डमा ठेक्का लागेकाले सबैलाई एउटै भन्न नमिल्ने झाको भनाइ छ । ‘सबै अलग–अलग ठेक्का लागेकाले त्यसलाई छुट्टा–छुट्टै तरिकाले हेर्नुपर्छ,’ उनले भनिन् ।

कोरोना महामारी, क्रसर उद्योग बन्द जस्ता कारणले पनि अयोजनामा ढिलाइ भएको आयोजना प्रमुख शाक्य बताउँछन् । ‘कोरोना, क्रसर बन्द जस्ता कारणले गर्दा पनि समय लम्बिएको हो,’ शाक्यले भने, ‘अब थप भएको समयमा निर्माण सम्पन्न गराउँछौँ ।’

धरानको मुख्य बजार र दुहबीमा समस्या

आयोजनाको धरानभन्दा केही माथिको भागमा अहिलेसम्म काम नै सुरु हुन सकेको छैन । सरकारले समयमा बजेट विनियोजन नगरेका कारण धरानको मुख्य बजारमा निर्माणको काम हुनै नसकेको आयोजना प्रमुख शाक्य बताउँछन् ।

त्यस्तै, इटहरीको ट्यांग्रा खोला आसपास र दुहबीमा करिब २ किलोमिटर खण्डमा पनि निर्माण गर्न बाँकी नै छ । अहिलेको मुख्य समस्या ट्यांग्रा खोला क्षेत्रमा रहेको शाक्य बताउँछन् ।
‘त्यहाँ निर्माण गर्दा कति दुर्घटना हुने हो, त्यो थाहा छैन,’ शाक्यले भने, ‘त्यसकारण त्यहाँको सडक विस्तारमा केही समस्या छ ।’

‘दुहबी खण्डको २ किलोमिटरमध्ये १ हजार ३२५ मिटर खण्डमा ठेक्का लागिसकेको छ । ‘दुहबीको ४२३ मिटर खण्डमा भने केही विवाद छ,’ शाक्यले भने, ‘त्यहाँका स्थानीयसँग समन्यव गरेर काम गर्नुपर्ने अवस्था छ ।’

दुहबीको २ सय मिटर सडक नगरपालिकाकै जग्गामा पर्ने भएकाले त्यहाँ कुनै समस्या नरहेको शाक्य बताउँछन् ।

ठेकेदारको पनि देखिन्छ हेलचेक्र्याइँ

इटहरीको तरहरादेखि धरानको सेउती खोला पुलसम्मको काम हेमदोङ प्यासिफिक जेभीले ठेक्का पाएको हो । उक्त सडकखण्ड ५३ सय मिटरको छ । जसमा ६ मध्ये १ लेन सडकमा मात्र कालोपत्र भएको छ ।

अन्य क्षेत्रमा भने ठेकेदारको हेल्चेक्र्याइँका कारण कालोपत्र भएको छैन । ठेकेदारले २ महिनासम्म काम नगर्दा सडकमा खाल्डो परेको छ । ‘सडक खाल्डो परेकाले पानी परेका बेलामा हिलो र घाम लागेका बेलामा धुलोले हिँड्न नसकिने अवस्था छ,’ नेपाल यातयात व्यावसायी महासंघ, कोसी प्रदेशका अध्यक्ष सरोज श्रेष्ठ भन्छन्, ‘त्यहाँ २ पांग्रे सवारी त गुड्ने अवस्था नै छैन ।’

उक्त सडकखण्डमा एम्बुलेन्समा बिरामी ल्याउँदा धेरै नै समस्या हुने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । यसका लागि यातायात व्यवसायीहरूले सम्बन्धित निकायलाई दबाबसमेत दिएका थिए ।

अध्यक्ष श्रेष्ठले भने, ‘त्यो बाटो बनाउन स्थानीय सरकारले चासो दिनुपर्ने हो । तर, उहाँहरूले वास्ता नगरेकाले हामीले दबाब पनि दियौँ, तर कसैले कुरा सुनेनन् ।’

अहिले उक्त सडकको निर्माण कार्य सुरु भइसकेको प्रमुख शाक्य बताउँछन् । ‘हामीले पत्र काटेका थियौँ, अहिले निर्माण थालिसकेको अवस्था छ,’ शाक्यले विकास टाइम्सँग भने, ‘अन्यतिर राम्रो सडक हुँदा त्यहाँ नराम्रो हुँदा सबैको फोकस भएको हो ।’

यस सडकखण्डमा समस्याको चाङ भए पनि आयोजना कार्यालय भने ६ महिनाभित्र निर्माण सकिने दाबी गर्छ । ठेकेदारले सरासर काम गरेमा ६ महिनाभित्र निर्माण सम्पन्न हुने आयोजना प्रमुख शाक्य बताउँछन् । ‘अब धेरै मेसिनले गर्ने काम बाँकी छ,’ उनले भने, ‘सरासर काम भए ६ महिनामा निर्माण सम्पन्न हुन्छ ।’

यसका लागि अहिले निर्माणको दोस्रो चरणको म्याद थप्ने प्रक्रिया पनि अगाडि बढेको छ । १ वर्षका लागि म्याद थप्ने प्रक्रिया अगाडि बढेको शाक्य बताउँछन् ।