भूकम्पमा परी घाइते भएकाहरुको उपचार प्रदेश सरकारले गर्ने

भूकम्पमा परी घाइते भएकाहरुको उपचार प्रदेश सरकारले गर्ने


धनगढी ।

भूकम्पमा परी घाइते भएकाहरुको औषधोपचार सुदूरपश्चिम सरकारले गर्ने भएको छ ।

मंगलबार बझाङ केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएका मानिसहरुको पूर्ण उपचार प्रदेश सरकारले गर्ने भएको हो ।

मुख्यमन्त्री मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षता आज बसेको सर्वपक्षीय छलफलको निष्कर्ष अनुसार घाइतेको उपचार, उद्धार, खोज तथा प्रभावितहरूलाई आवश्यक राहत सामग्री एकद्वार प्रणालीमा वितरण गरिने भएको छ ।

भूकम्पका कारण २७ जना घाइते भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

साथै खोज, उद्धार र राहत वितरणको सम्पूर्ण जिम्मेवारी पनि प्रदेश सरकारले लिने मुख्यमन्त्री कमलबहादुर शाहले बताए ।

बझाङमा भूकम्पपछि गएको पहिरोमा परेर एकजना महिलाले ज्यान गुमाएकी छिन् । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् भने १८ जना घाइते भएका छन् । अछाममा पाँच जना, र बैतडी तथा बाजुरामा समान २/२ जना घाइते भएका आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

यस्तै बझाङमा एकसय ३५ संरचनामा क्षति पुगेको छ । थलारामा ६० घरमा क्षति पुगेको छ । केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति पुगेको छ भने जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्याल्य बझाङले जनाएको छ ।