नेपालगञ्जमा १२ घण्टाका लागि हट्यो कर्फ्यु

नेपालगञ्जमा १२ घण्टाका लागि हट्यो कर्फ्यु


बाँके ।

नेपालगञ्जमा लगाइएको कर्फ्यु बिहीबार बिहानदेखि सामान्य बनेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै बिहान ८ बजेदेखि राति ८ बजेसम्मलाई कर्फ्यु हटाइएको जानकारी दिएको हो ।

राति ८ बजेदेखि शुक्रवार बिहान ६ बजेसम्म पूर्ववत् रूपमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कर्फ्यु जारी रहने सूचनामा उल्लेख छ । कर्फ्यु खुल्ला गरिएको अवधिमा निषेधाज्ञा भने जारी गरिएको छ ।

बिहान ८ बजेदेखि राति ८ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने प्रशासन कार्यालयले जनाएको छ । हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको पनि सूचनामा उल्लेख छ ।

बाँकेको नेपालगञ्जमा ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रूपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्‍यालीले बजार परिक्रमा गर्ने क्रममा बिपी चोकबाट त्रिभुवन चोक जाने क्रममा र्‍यालीमाथि अज्ञात समूहले ढुङ्गा प्रहार गरेपछि स्थिति भड्किएको थियो ।

र्‍याली नियन्त्रण भन्दा बाहिर गएर सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उछृंखल गतिविधि प्रदर्शन भएपछि स्थिति नियन्त्रणका लागि कर्फ्यु आदेश जारी गरिएको थियो ।प्रदर्शनीका क्रममा भएको झडपमा परी ३ सुरक्षाकर्मी सहित १३ जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सञ्जालमा पनि एक अर्का विरुद्ध जथाभाबी नलेख्न आग्रह गरेको छ ।