म्याग्दीमा पहिलोपटक भेटियो विश्वमै दुर्लभ हाब्रे

म्याग्दीमा पहिलोपटक भेटियो विश्वमै दुर्लभ हाब्रे


म्याग्दी ।

म्याग्दीमा पहिलोपटक विश्वमै दुर्लभ मानिने जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ ।

धौलागिरि गाउँपालिका–लुलाङको जलजलास्थित जंगलमा रेडपाण्डा भेटिएको हो ।

च्याउ संकलन गर्न गएका स्थानीय सुवास थापाले जलजलाको जंगलमा रेडपाण्डाको जिल्लामै पहिलोपटक दृष्य खिचेका हुन् ।

डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जलजलाको जङ्गलमा रेडपाण्डा भेटिएको जानकारी दिए । उनले भने, “हामीलाई लुलाङको जलजलास्थित जङ्गलमा रेडपाण्डाको वासस्थान थियो भन्ने पहिला पनि जानकारी आएको थियो, भौतिक रुपमा देखिएपछि पुष्टि भयो, रेडपाण्डा संरक्षणको कार्यक्रम , चोरी शिकारी नियन्त्रण , जनचेतनाको वृद्धिले रेडपाण्डा देखिएको हो । ”

म्याग्दीमा यसअघि दुर्लभ वन्यजन्तु रेडपाण्डा देखिएको थिएन । रेडपाण्डाको वासस्थानसम्बन्धी अनुसन्धान गर्दै आएका बद्री बरालले म्याग्दीको भूगोलमा पहिलो पटक रेडपाण्डा भेटिएको जानकारी दिए । “हामीले सात वर्षअघि सर्वेक्षण र अनुसन्धानको क्रममा जलजला नजिकैको मरेनी क्षेत्रमा रेडपाण्डाको दिसा भेटाएको आधारमा म्याग्दीमा यसको वासस्थान रहेको पुष्टि भएको थियो”, उनले भने, “सुवास थापाले जललला क्षेत्रको जङ्गलमा खिचेको दृष्यले यस क्षेत्रमा रेडपाण्डाको बसोबास रहेको हाम्रो अनुसन्धानको प्रतिवेदनलाई थप पुष्ट्याइ गरेको गरेको छ ।”

लजालु स्वभाव रहेको रेडपाण्डाले पैदल यात्रामा रहेका सर्वसाधारणलाई देखेर रमाइरहेको करिब दुई मिनेट नौ सेकेण्डको भिडियोमा देखिन्छ । विसं २०७३ मा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो ।