‘विदेशबाट सामान आएको छ,छुटाउन पैसा लाग्छ’ भन्दै ठगी, सचेत हुन आग्रह

‘विदेशबाट सामान आएको छ,छुटाउन पैसा लाग्छ’ भन्दै ठगी, सचेत हुन आग्रह


काठमाडौं ।

विदेशबाट सामान आएको छ भन्दै कोही कसैले छुटाउन पैसा लाग्छ भन्दै मागेमा नदिन त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले अनुरोध गरेको छ ।

पछिल्लो समय फोन तथा विभिन्न सामाजिक सञ्जालहरूको प्रयोग गरी विदेशबाट सामान आएको छ तर छुटाउन पैसा लाग्छ भन्दै पैसा माग्ने क्रम बढेपछि कार्यालयले एक सूचना जारी गर्दै सचेत गराएको हो ।

विदेशबाट सामान आएको र सामान विमानस्थल भन्सार कार्यालयमा छ भन्दै फोन आउन थालेपछि आफ्नो सामानबारे सोधपुछ गर्नेको संख्या बढेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

सूचनामा भनिएको छ ‘फोन तथा विभिन्न सामाजिक सञ्जालका माध्यमको प्रयोग गरी विभिन्न व्यक्तिले विदेशबाट तपाईँको नाममा सामान आएको छ, सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा छ र यो सामान छुटाउन पैसा लाग्छ, पैसा तुरुन्त पठाउनुहोस् भन्दै अनुरोध गर्ने गरेको भनी यस कार्यालयमा सोधपुछ गर्न आउने व्यक्तिहरूको सङ्ख्या बढेको छ ।’

यसरी विभिन्न माध्यम तथा व्यक्तिमार्फत आउने गलत सूचनाको प्रलोभनमा परी अन्जान व्यक्तिलाई सामान पाउने आसमा पैसा नदिन कार्यालयले आग्रह गरेको छ । सत्य तथ्य नबुझी फोनकै भरमा पैसा दिएमा ठगीमा पर्छ सकिन्छ ।

यस्तो कुनै फोन वा म्यासेज आएमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सम्पर्क गरी यथार्थ बुझ्न सकिन्छ ।