बझाङमा फेरि २ भूकम्प, ३०० भन्दा बढी पराकम्प

बझाङमा फेरि २ भूकम्प, ३०० भन्दा बढी पराकम्प


बझाङ ।

सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति २ पटक भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ तथा गए राति १२ः२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गत मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

दोस्रोपटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर ६.३ रेक्टर स्केल, ३ः१३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केल, ३ः४५ बजे सुरमा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए । यस्तै सयौँ घरमा क्षति पुगेको थियो ।

केन्द्रका भूगर्भविद् डा लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनसुकै बेला पनि भूकम्प जानसक्ने बताउछन् । “विगत ५ सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो समय उक्त क्षेत्रमा भूकम्प जान थालेको छ”, उनले भने ।

केन्द्रका अनुसार मंगलबारयता ३ सयभन्दा धेरै साना–ठूला परकम्प गएका छन् ।

पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।