दलगाउँका ३ परिवारलाई अन्धकारबाट मुक्त गर्‍याे पालिकाले

दलगाउँका ३ परिवारलाई अन्धकारबाट मुक्त गर्‍याे पालिकाले


भोजपुर ।

बिजुलीकाे पहुँचबाट टाढा रहेको भाेजपुरकाे दलगाउँका ३ परिवारलाई गाउँपालिकाले सोलार सेट उपलब्ध गराएपछि खुसी भएका छन् ।

भोजपुरको रामप्रसाद राई गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका वडा नम्बर ४, दलगाउँका ३ परिवारलाई सोलार सेट सहयोग गरेको हो ।

पालिका अध्यक्षबाट सोलार सेट बुझेपछि मीनराज राईले भने, ‘सबैतिर बत्ती पुगे पनि हामी अँध्यारोमा बस्न बाध्य थियौँ । पालिकाको सहयोगले राहत मिलेको छ । हामी खुसी भयौँ ।’

विद्युत् सेवाबाट वञ्चित दलगाउँका राईसहित मनकुमारी राई र बखतबहादुर राईलाई पालिकाका अध्यक्ष थामबहादुर राईले सोलार सेट हस्तान्तरण गर्दै पालिकाभित्रका कोही पनि नागरिक विद्युत् सेवाबाट वञ्चित हुन नपरोस् भन्नका लागि सहयोग गरिएको बताए । ‘विद्युत् सेवाका लागि दुरी टाढा र आर्थिक अवस्थासमेत कमजोर भएकाले ३ परिवारलाई सहयोग गरेका हौँ’, उनले भने ।

विद्युत् नहुँदा अन्धकारका बस्न बाध्य परिवारलाई पालिकाले सहयोग गरेपछि सबै क्षेत्रमा विद्युत् विस्तार भएको वडाध्यक्ष बाबुकुमार राईले बताए । उनका अनुसार विद्युत् प्राधिकरणबाट सबै क्षेत्रमा विद्युत् विस्तार भए पनि दुरी तथा आर्थिक अवस्था कमजोर भएकाले ३ परिवारको घरमा सेवा पुगेको थिएन ।

यस्तै, चाडपर्व नजिकिएसँगै गाउँपालिकाले वडा तहमा पुगेर ज्येष्ठ, अपांगता भएका तथा अशक्त नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।

पालिकाले एनआइसी एसिया बैंकको समन्वयमा दलगाउँका १५४ लाभग्राहीलाई स्वास्थ्य परीक्षण गरी भत्ता उपलब्ध गराइएको पालिकाका अध्यक्ष राईले जानकारी दिए । पालिकाले आगामी २५ गतेसम्म सबै वडामा पुगेर भत्ता वितरण सम्पन्न गर्ने जनाएको छ ।