काठमाडौँ ।
गरिमा विकास बैंकले इएमआईमा क्रेडिट कार्ड लिन सकिने सुविधा ल्याएको छ । बैंकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो सुविधा ल्याएको जानकारी गराएको हो ।
‘आज किन्नुहोस् र पछि तिर्नुहोस्’ सिद्धान्तमा आधारित रहने क्रेडिट कार्ड सुविधा गरिमा विकास बैंकले आफ्ना ग्राहकका लागि सुरुआत गरिसकेको छ,’ बैंकले भनेको छ, ‘यसलाई थप ग्राहकमैत्री बनाउने उद्देश्यका साथ विकास बैंकहरूमा नै पहिलो पटक क्रेडिट कार्डमा इएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुआत गरेको छ ।’
जसअन्तर्गत बैंकले सम्झौता गरेका बिक्रेताहरूसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट किस्ताबन्दीमा भुक्तानी गर्न पाइनेछ । यसरी खरिद गरिएको सामानको भुक्तानी किस्ताबन्दीमा गर्दा कुनै ब्याज नलाग्ने बैंकले जनाएको छ ।
यदि ग्राहक आफैँले पनि अरू कतैबाट सामान खरिद गरी गरिमा विकास बैंकमा भ्याट बिल पेस गरी यो सुविधा लिन चाहेमा पनि सजिलै लिन सकिने जनाइएको छ ।
आउँदै गरेको दसैँ तथा तिहारमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकका लागि यो सुविधा ल्याइएको बैंकले जनाएको छ । बैंकले यस योजनाले सबै नेपालीको पहुँचमा क्रेडिट कार्डको पहुँच पुग्ने र देशको आर्थिक प्रणाली चलायमान राख्ने विश्वास लिएको जनाएको छ ।
हाल गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आएको छ ।
प्रतिक्रिया