सरकार एक्लैले आर्थिक विकास गर्न सक्दैन : उद्योगमन्त्री रिजाल

सरकार एक्लैले आर्थिक विकास गर्न सक्दैन : उद्योगमन्त्री रिजाल


काठमाडौँ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारको एक्लो प्रयासबाट मात्रै मुलुकको आर्थिक विकास सम्भव नभएको बताएका छन्।

शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ४४औँ साधारणसभामा बोल्दै उद्योग मन्त्री रिजालले सरकार र निजी क्षेत्र समन्वय र सहकार्य भएमात्रै मुलुकको आर्थिक विकास सम्भव रहेको उल्लेख गरे। उनले देशको समग्र सामाजिक र आर्थिक विकास हुन निजी क्षेत्रले दिगो र फराकिलो पूर्वाधार तयार गर्नसक्ने बताए। उद्योग मन्त्री रिजालले निजी क्षेत्र रोजगारी सिर्जना र औद्योगिक माध्यम भएको दाबी गरे।

उनले निजी क्षेत्रको सक्रिय सहभागिता भएका मुलुकहरूमा आर्थिक विकास राम्रो भएको देखिएको भन्दै नेपालमा पनि आर्थिक विकासमा निजी क्षेत्रको सहभागिता वृद्धि गर्न आवश्यक रहेको बताए। उनले निजी क्षेत्रको अधिकतम प्रयासले मात्रै उदारवादी अर्थतन्त्रको मर्मअनुरुप आर्थिक विकास गर्नेमा वर्तमान सरकार विश्वास राख्ने बताए।

उनले आयातलाई न्यून गर्दै लैजाने निर्यातलाई प्रवर्द्धन गर्ने सरकारको नीतिलाई साकार बनाउन निजी क्षेत्रको सहयोग विना सम्भव नभएको उल्लेख गरे। उनले कृषिलाई व्यवसायीकरण गरी उत्पादन वृद्धिमा जोड दिन निजी क्षेत्रलाई आग्रह गरे।

उनले निजी क्षेत्रको माग अनुरूप सरकारले सम्बोधन गर्न नसकेको अवस्थामा आलोचना भन्दा पनि सरकारसँग हातेमालो गरेर समस्याको समाधान खोज्नु आवश्यक रहेको बताए। उनले सरकारले निजी क्षेत्रको मागअनुसार कानूनी र नीतिगत विषयमा सुधार गर्दै आइरहेको दाबी गरे।