असिनाले फूल सखाप बनायाे, बचेकाे स्याउ पनि गाेदाममै थन्किँदा मुगुका किसान मारमा

असिनाले फूल सखाप बनायाे, बचेकाे स्याउ पनि गाेदाममै थन्किँदा मुगुका किसान मारमा


मुगु ।

असिनाले क्षति पुर्‍याउँदा मुगुमा यो वर्ष स्याउ उत्पादनमा कमी आउँदा किसान मर्कामा परेका छन् । चैत–वैशाखमा फक्रिन लागेको स्याउको फूल असिना पानीले झार्दा स्याउ उत्पादनमा कमी आएको छ भने किसानले उचित मूल्य पनि पाएका छैनन् । त्यसमाथि बिक्रीका लागि लगिएकाे स्याउ नेपालगन्जमै थन्किएकाे छ ।

मुगुको छायानाथ रारा नगरपालिका–४ ताल्चाका विष्णुमाया रोकायाले स्याउ खेती गर्दै आएको १ दशक नाघिसक्यो । १ हजार ५०० भन्दा बढी स्याउका बिरुवा रहेका रोकायाको बगानमा यस वर्ष असिना पानीले स्याउ उत्पादनमा कमी आउँदा निराश बनेकी छिन् । मुगुबासीको आम्दानीको प्रमुख स्रोतमध्येकाे स्याउ उत्पादन गत वर्षभन्दा यो वर्ष निकै कमी आएको छ ।

परम्परागत खेती आलु, कोदो, जौबाट राम्रो आम्दानी नहुने भएपछि जिल्लाका अधिकांश किसानले स्याउ खेती गर्दै आएका छन् । पुर्ख्यौली पेसालाई बिट मार्दै स्याउ खेतीमा रमाएकी ५० वर्षीया झुपु विक अहिले पनि स्याउ खेतीमै रमाउने गरेकी छिन् । तर, यो वर्ष स्याउ नफल्दा दसैँतिहार जस्ता चाडपर्व कसरी मनाउने भन्ने पिरलो उनलाई थपिएकाे छ ।

असिनाले जसोतसो जोगिएर उत्पादन भएकाे फलमा समेत दाना कालाे हुने समस्या देखिएको छ । जिल्लाका नियमनकारी निकायले स्याउसम्बन्धी प्राविधिक ज्ञान प्रदान नगर्नु, समयमै किसानलाई समस्या समाधानबारे जानकारी नगराउँदा यस्तो समस्या आएको किसानको गुनासो छ । बिक्रीका लागि लगिएकाे मुगुकाे स्याउले भाउ पाएकाे छैन भने सबै स्याउ नेपालगन्जमै थन्किएको स्याउ किसान हरिबहादुर भामले जानकारी दिए ।

मुगुका ताल्चा, पिन, रोवा, शोभा, बाम, सोरुकोट, खमाले, लमेरा, सेरी, जामलगायत स्थानलाई स्याउको पकेट क्षेत्र मानिन्छ ।

मुगुमा ३७५ हेक्टर क्षेत्रमा स्याउ उत्पादन हुने गरेकामा यस वर्ष ९ हेक्टरमा मात्र उत्पादन भएको छ । यसलाई हेर्दा यस वर्ष ३ हजार ३७५ मेट्रिक टन स्याउ उत्पादन भएको छ ।

गत वर्ष जिल्ला बाहिर स्याउ निर्यात हुँदा प्रतिकिलो ३५ रुपैयाँका दरले १ करोड १२ हजारभन्दा बढी रुपैयाँ कृषकले हात पारेका थिए । तर, यो वर्ष अहिलेसम्मको रेकर्ड हेर्दा स्याउ निर्यातबाट ११ लाख ८१ हजार २५० रुपैयाँ मात्रै आम्दानी भएको कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख चन्द्रबहादुर शाहीले बताए ।

स्याउ उत्पादनमा फड्को मारेका मुगुका किसान यो वर्ष गतिलाेसँग स्याउ नफल्दा घर खर्च, छोराछोरीलाई पठनपाठनमा पनि समस्या पर्ने देखिएको छ । सरकारले कृषिमा करोडौँ रकम खर्च त गरेको छ, तर किसानलाई आधुनिक तवरले खेती गर्ने वातावरण सिर्जना गरेको छैन ।