देशलाई धार्मिक युद्धतिर धकेल्ने प्रयास भइरहेकाे छ : केसी

देशलाई धार्मिक युद्धतिर धकेल्ने प्रयास भइरहेकाे छ : केसी


काठमाडाैँ ।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताएका छन्।

शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद केसीले मलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको बताएका हुन्।

उनले समाजमा नियोजित रुपमा अराजकता फैलाउने र द्वन्द्व निम्त्याउने स्थिति निर्माण भएको उल्लेख गर्दै यसप्रति सतर्क र गम्भिर हुनुपर्ने बताए। उनले भड्काउ अभिव्यक्तिलाई सरकारले बेलैमा नियन्त्रण गर्नुपर्नेमा जोड दिए।

‘अन्तर्जातिय भाइचारा र धार्मिक द्वन्द्व मच्चाउने खालका जुन कुरा भएका छन्, त्यसमा हामी सबै सतर्क हुनुपर्छ। यसलाई उसलाई भनेर दोष लगाउने स्थिति छैन। समाजमा नियोजित रुपले अराजकता फैलाउने र द्वन्द्व निम्त्याउने खालका जुन स्थितिहरु निर्माण भएको छ त्यसमा राष्ट्रिय रुपबाट नै शतर्क हुनुपर्ने आवश्यकता छ,’ सांसद केसीले भने, ‘सरकार समयमै गम्भीर हुनुप¥यो। संविधानले नै निषेध गरेको प्रतिवन्धात्मक क्षेत्रहरुमा कहीँ कतैबाट भयो भने जुनसुकै पद र दायित्वमा बसेका हुन् हिंसात्मक द्वन्द्व अथवा धार्मिक र जातिय द्वन्द्व निम्त्याउने खालको सामाजिक सञ्जालमार्फत जुन किसिमको प्रक्रिया शुरु भएको छ त्यसलाई शुरुमै सरकारले नियन्त्रण गर्नुपथ्र्यो गर्न सकेन।’

सांसद केसीले कसैबाट उचालिएर द्वन्द्व चर्किएमा देशमा असंगठित विद्रोह र अराजकताको स्थिति आउने बताए।

‘कहीँबाट उचालिने, कहीँबाट प्रोत्साहित गर्ने र द्वन्द्व चर्काउने खालका कोसिसहरू भइरहेका छन्। त्यतातिर हामी गम्भीर हुनुपर्छ नत्र यसले असंगठित विद्रोह र अराजकताको स्थितिमा देशलाई डोहोर्‍याउँछ,’ उनले भने ।