९० लाखभन्दा बढी अकूत कमाएका अहेवविरुद्ध अख्तियारकाे मुद्दा

९० लाखभन्दा बढी अकूत कमाएका अहेवविरुद्ध अख्तियारकाे मुद्दा


काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा चापाकोट नगरपालिका स्याङ्जाका सिनियर अहेब बिन्दु कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले कोइरालाविरुद्ध ९० लाख ३९ हजार ६२० रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ । सरकारी सेवामा २०५४ कात्तिक ५ गतेदेखि २०७८ मंसिर १ गतेसम्म कोइरालाले आर्जन गरेको सम्पत्तिको विषयमा आयोगले अनुसन्धान गरेको छ ।

सो अवधिमा कोइरालाले २ करोड ९७ लाख ८१ हजार ८०२ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको पाइएको छ । सोही अवधिमा सिनियर अहेब कोइरालाले ३ करोड ८८ लाख २१ हजार ४२२ बराबरको खर्च तथा लगानी गरेको अनुसन्धानको क्रममा फेला परेको आयोगले जनाएको छ ।

कुल आयभन्दा खर्च तथा लगानी बढी रहेको तथा त्यसको स्रोतसमेत नखुलेको पाइएपछि आयोगले मिहिन रूपमा छानबिन गर्दा अनियमितता देखिन गएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता कोइरालाको नाममा बैंकमा जम्मा गरेको पाइएको छ ।

स्रोत पुष्टि हुन नसकेको सम्पत्ति जफत गरी बिगो बमोजिम कारबाहीको माग दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए । आयोगले अहेब कोइराला र श्रीमती गीताविरुद्ध बिगो बमोजिम कारबाहीको माग दाबी गरेको छ ।