स्याङ्जा ।
तपाईं घुम्ती व्यापार गरिरहनुभएको छ भने ख्याल गर्नुहोला । अबदेखि घुम्ती व्यापार गर्दा अनुमति लिनुपर्ने हुन्छ । अनुमति नलिईकन जिप, ट्रक, साइकल, पैदललगायत जुनसुकै तवरबाट घुम्ती व्यापार गर्न पाइँदैन ।
अनुमति नलिई व्यापार गरेमा जरिमानासहित कारबाही पनि भोग्नुपर्ने अवस्था आउन सक्छ । घुम्ती व्यापारका कारण अधिकांश बजार क्षेत्रका व्यवसायीहरू ठुलो मारमा परेका छन् । यसैलाई मध्यनजर गरेर स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले अब पालिकाभित्रका टोल—टोलदेखि गाउँगाउँमा र बजार क्षेत्रमा घुम्ती व्यापार गर्न प्रतिबन्ध लगाएको छ ।
घुम्ती व्यवसाय गर्ने व्यापारीले वडा वा पालिकाको प्रशासनबाट अनुमति लिएर मात्रै व्यावसाय गर्न अनुरोध गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले सूचना जारी गर्दै पालिका बाहिरबाट आएर कुनै दर्ता कागजात वा पालिकासँग अनुमति नलिई सामान बिक्रीवितरण नगर्न अनुरोध गरेका छन् ।
स्थानीय व्यावसायीको गुनासो आउन थालेपछि पालिकाले सो प्रतिबन्ध लगाएको हो । सम्बन्धित वडा वा पालिकाबाट अनुमति लिएर मात्रै सामग्री बिक्रीवितरण गर्न प्रशासकीय अधिकारीले जारी गरेको सूचनामा भनिएको छ, ‘सूचनाको बर्खिलाप गरिएमा सामान जफत हुने र आवश्यक कारबाही हुनेछ ।’
अनुमति नलिई सामग्री बिक्रीवितरण गरेको देखेमा प्रहरी, वडा कार्यालय वा पालिकामा खबर गरी सहयोग गरिदिन समेत सूचनामा उल्लेख छ ।
अधिकांश ग्रामीण भेगमा भारतीय मूलका व्यापारीहरूले कमसल खालका सामग्री बिक्रीवितरण गर्ने क्रियाकलाप बढेको छ । चाडबाड नजिकिएसँगै यस्ता व्यापारीहरूको चहलपहल गाउँघरतिर निकै बढ्न थालेको छ ।
बजारमा भन्दा सस्तोमा पाइने भन्दै कमसल खालका सामग्री किन्दा स्थानीय नागरिक ठगिएको महसुस भएकाले सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।
अनुमति लिएर मात्रै सामग्री बिक्रीवितरण गर्न अनुरोध गरेको पालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । ‘गाउँघरमा अनुमति नलिई सामग्री बिक्रीवितरण गर्ने यस्ता व्यापारीको बिगबिगी नै चलेको छ,’ उनले भने, ‘जसले गर्दा स्थानीय ठगिने मात्रै नभएर चोरीका घटना पनि हुन थालेका छन् ।’
चोरीसँगै अन्य सामाजिक आपराधिक क्रियाकलाप बढ्न सक्ने महसुस गरेर यसमा कडाइ गर्न थालेको अध्यक्ष तिवारीले बताए । पालिकाले रेकर्ड राख्ने प्रक्रिया अघि बढाएपछि ठगिने, लुटिने र आपराधिक क्रियाकलापका घटनामा खोज्न सजिलो हुने तिवारीले बताए ।
पालिकामा सडक निर्माणदेखि घर निर्माणका लागि आएका मजदुरहरूको समेत रेकर्ड राख्ने तयारीमा लागेको उनले बताए । गाउँपालिकाले घुम्ती व्यापार गर्ने व्यापारीलाई कानुनको दायरामा ल्याउने प्रयासलाई पालिकाका व्यवसायीले प्रशंसा गरेका छन् ।
वार्षिक राजस्व तिर्ने व्यापारीलाई चुनौती दिएर दिनदहाडै बिनादर्ता, बिनाराजस्व घुम्ती व्यापार गर्नेहरूलाई करको दायरामा ल्याउन गरिएको यो कार्य अत्यन्तै राम्रो भएको व्यवसायीको भनाइ छ ।
प्रतिक्रिया