लुम्बिनी ।
लुम्बिनी केबलकार लिमिटेडले नेपालीहरुको महान चाड दशैं, तिहार, नेपाल संवत र छठलाई लक्षित गरी चाडपर्व अफर ल्याएको छ ।
असोज २१ गतेदेखि लागु हुने गरी ल्याइएको यो अफरमा साविक टिकट दरमा शनिबार वाहेक अन्य दिनहरुमा ४० प्रतिशत छुट दिने भएको छ ।
यो अफर अनुसार अब शनिबार वाहेक अन्य दिनहरुको टिकट दर ४५० रुपैयाँ मात्र कायम भएको छ ।
नेपालीहरुका महान चाडपर्वका अवसरमा आम सर्वसाधारणलाई सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्ष पुरानो दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले चाडपर्व अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए ।
टिकट दरमा छुटसंगै कम्पनीले केबलकारको टप स्टेशनमा रहेको रेष्टुरेन्टका हरेक परिकारमा १० प्रतिशत छुट पनि दिने अपरेसन म्यानेजर सैंजूले जानकारी दिए ।
चाडपर्वमा आम सर्वसाधारण परिवार सहित केबलकार चढ्न र देवी मन्दिर दर्शन गर्न सहज होस् भनेर ल्याइएको यो अफर यसअघिको मर्निङ अफर जस्तै सफल हुने कम्पनीले विश्वास लिएको छ ।
आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो । बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका बसन्तपुरमा टप स्टेशन रहेको २।६ किलोमिटर दुरीको केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्ष पुरानो दुर्गा भगवती मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ ।
टप स्टेशनमा कम्पनीले ४० लाख लागतमा जीप लाइन सञ्चालनमा ल्याइसकेको छ भने छिटै डेढ करोड बढी लागतमा स्काई साइक्लिङ,विद्युतीय पिङ र बाल उद्यान बनाउंदै छ ।
कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने गरेका छन् । केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्क वापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकालाई दिने गरी सम्झौता भएको छ । उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशतका दरले बांडफाड गर्ने गरी सम्झौता भएको छ ।
टप स्टेशनमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र १ सय ५० कोठा,एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पांच तारे होटेल बनाउने तयारी गरेको छ ।
प्रतिक्रिया