राप्ती प्रादेशिक अस्पतालमा २ पटक विज्ञापन गर्दा पनि आवेदन परेन

राप्ती प्रादेशिक अस्पतालमा २ पटक विज्ञापन गर्दा पनि आवेदन परेन


दाङ ।

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतका लागि २ पटक विज्ञापन गर्दा पनि कुनै आवेदन परेन ।

करारमा मेडिकल अधिकृत नियुक्ति गर्नका लागि आवेदन आह्वान गर्दा पनि कुनै आवेदन नपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले बताए ।

४ जनाका लागि विज्ञापन गर्दा पनि आवेदन नपर्दा अहिले विद्यमान सीमित चिकित्सकले सेवा दिनुपरेको उनको भनाइ थियो।

५० शय्याको उक्त अस्पतालमा १५० जनाका लागि सेवा सञ्चालन हुँदै आएकामा अब २०० शय्या बनाउनका लागि प्रदेश सरकारले कसरत थालेको छ । डायलाइसिस तथा प्रसूतिलगायत सेवामा अझै पनि जनशक्ति अभाव छ ।

जनशक्ति अभावकै कारण आइसियु सेवा सञ्चालन गर्न सकिएको छैन । आइसियुका लागि करिब थप १० बेड चाहिन्छ । यसैगरी ६ जना मेडिकल अधिकृत, १९ जना नर्सिङ, ६ जना कार्यालय सहयोगी पनि चाहिने निमित्त मेसु अधिकारीले बताए ।

उपकरण भए पनि जनशक्ति अभावकै कारण उक्त सेवा सञ्चालन गर्न नसकिएको उनको गुनासो थियोे । दैनिक १०० बिरामीलाई धान्न सक्ने मात्रै जनशक्ति हुँदा पनि दैनिक ६०० बिरामी आउने गरेको उक्त अस्पतालमा हाल कन्सलटेन्ट १४, मेडिकल अफिसर २५, स्टाफ नर्स ६८ जना कार्यरत छन् ।

प्रदेशअन्तर्गत रहेकाले यो अस्पताललाई आगामी मन्त्रिपरिषद्को बैठकबाट २०० शय्यामा पुर्‍याउन प्रयास भइरहेको प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए ।