सरकारले तोकेको भाडा भन्दा एक रुपैयाँ बढि लिदैनौं : उपाध्यक्ष सिटौला

सरकारले तोकेको भाडा भन्दा एक रुपैयाँ बढि लिदैनौं : उपाध्यक्ष सिटौला


काठमाडौं ।

दसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ ।

आजबाट लामो दूरीको सवारीको लागि बुकिङ खुला गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले, टिकटको मूल्यमा कालोबजारी हुन नदिने, सवारी अभाव हुन नदिने र सरकारले तोकेभन्दा एक रुपैयाँ पनि भाडामा तलमाथि नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

टिकट खुलाएको पहिलो दिन सोमबार बसपार्क क्षेत्रमा निरिक्षण गर्न पुगेका सिटौलाले दसैँका लागि टिकट अभाव हुन नदिन सक्दो प्रयास गर्ने बताए । उनले व्यवसायीलाई तोकिए भन्दा भाडा बढी नलिन आग्रह गर्दै टिकटको कालोबजारी गरेको पाईए कारबाही गर्ने चेतावनी दिए ।

सिटौलाले भने, ‘हामीले वेवसाइटमा राखेको भाडाको जुन रेट छ त्यो तोकिएको भाडाभन्दा एक रुपैयाँ बढी व्यवसायीले नलिनुहोला । काँही छिटो टिकट चाहियो भनेर सिट मिलाउने हिसाबले बाहिरबाट बिचौलियासँग सेवाग्राहीले टिकट लिुनुहुन्छ भने तपाइँहरु आफैं ठगिनुहुन्छ । आधिकारीक काउन्टरमा परिचयपत्र बोकेका आधिकारीक कर्मचारीसँग मात्रै टिकट काट्नुहोस । भाडामा एक रुपैयाँ पनि तलमाथि हुँदैन । यदी कालोबजारी भएको पाइएमा त्यसलाई हामी कानूनी कारबाहीको दायरामा ल्याउँछौ र त्यसको लागि हामी सचेत छौ ।’

दसैं लगायतका ठूला पर्वहरुमा लामो तथा छोटो दूरीका सवारीमार्फत ठूलो संख्यामा उपत्यका लगायतका देहका विभिन्न शहर र स्थानबाट नागरिकहरु गन्तव्यतर्फ जाने हुँदा त्यसको लागि आवश्यक सवारी व्यवस्थापन गर्न महासंग तयार रहेको भन्दै सिटौलाले सरकारले द्रुत गतिमा सडकको स्तररोन्नति गर्नुपर्नेमा जोड दिए ।

‘उपत्यका देखि बाहिर जानेहरुसँगै मेची महाकालीबाट भारतीय नाका हुँदै १० औँ लाख नेपाली घर आउनुहुन्छ । यो सबैको व्यवस्थापनको लागि मैले बारबार भनेको छु सरकारले सडकलाई स्तरोन्नति गर्न द्रुत गतिमा काम सुरु गर्नुपर्छ । हामीलाई बुकिङ खोल्नुहोस,टिकट दिनुहोस भनेरमात्र हुँदैन,यात्रुले टिकट काटेपछि घरजाने दिन सुरक्षित रुपमा गन्तव्यमा पुग्नुपर्छ । यसमा सबैको सहयोग र समन्वय जरुरी छ ।’ सिटौलाले भने ।

सिटौलाले कालोबजारीलाई नियन्त्रण गर्न, नागरिकलाई सास्तीहुने गरी लाइनमा बसेर टिकट काट्नुपर्ने अवस्थाको अन्त्यका लागि केही ठाउँबाट अनलाईनमार्फत टिकट काट्ने व्यवस्था भए पनि त्यसलाई सरकारले द्रुत गतिमा नीतिगत व्यवस्था गरी व्यवस्थित गर्नु पर्नेमा जोड दिए ।

उनले भने, ‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनलाईन सेवा दिन लागिपरेका छौ । तर,मूल नीति बनाउने भनेको सरकारले हो । फास्ट ट्याकबाट अनलाइन टिकेट काट्ने व्यवस्था सहितको प्रविधिमैत्री नीतिको लागि सरकारलाई हाम्रो आग्रह छ ।’

दसैंमा यात्रुको सुरक्षाको लागि उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भुपेन्द्र बहादुर खत्रीले बताए ।

उनले भने, ‘विशेष सुरक्षा योजना अन्र्तगत हामीले उपत्यकामा मात्रै १४ वटा स्थानमा विगतका घटनाहरुलाई दृटिगत गरी नागरीकलाई सुरक्षा कसरी दिन सक्छौ भनेर नागरिक साहायता कक्ष राखेका छौ । बसपार्क क्षेत्र लगायत विभिन्न भिडभाड हुने स्थानमा प्रविधिको प्रयोग गरी सिसिटिभी र पहिलोचोटी उपतयकामा ड्रोनको प्रयोग गर्ने, तथा उच्च प्रविधिको प्रयोगगरी सुरक्षा व्यवस्था मिलाएका छौ ।’

सोमबार बिहानैबाट नयाँ बसपार्क, कलंकी, कोटेश्वर,चाबहिल छेत्रमा उपत्यका बाहिर जानेयात्रुहरु टिकट बुकिङका लागि भिड लागेको छ ।