गाँजासहित पक्राउ परेका गाउँपालिका अध्यक्ष घर्तीमाथि साढे ३ वर्षको जेल सजाय

गाँजासहित पक्राउ परेका गाउँपालिका अध्यक्ष घर्तीमाथि साढे ३ वर्षको जेल सजाय


बागलुङ ।

लागु औषध (गाँजा)सम्बन्धी मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई नै सदर गरेको छ ।

आइतबार न्यायाधीशद्वय मदन पोख्रेल र माधविन्द्रराज रेग्मीको संयुक्त इजलासले जिल्ला अदालत बागलुङको ३ वर्ष ६ महिना कैद फैसला सदर गर्दै घर्तीलाई थप ५० हजार जरिवानाको फैसला गरेको अदालतका सूचना अधिकारी शिवप्रसाद गौतमले जानकारी दिए ।

जिल्ला अदालत बागलुङले २०७९ पुस ३ गते घर्तीलाई लागुऔषध कारोबारमा संलग्न भएकोमा दोषी ठहर गर्दै कैद फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध घर्तीले २०८० जेठ ३ मा उच्च अदालत पोखरा, बागलुङ इजलासमा पुनरावेदन दिएका थिए ।

हाल गाउँपालिका अध्यक्ष रहेका घर्ती निसीखोला–६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका थिए । घर्तीलाई जिल्ला अदालत बागलुङले कैद फैसला गर्दा घर्ती गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका थिए ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका तत्कालीन प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई निवासबाटै पक्राउ गरेको थियो ।

बुर्तिवाङ बजारमा गाँजा सेवन गर्ने युवालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा आपूर्तिकर्ताको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो ।