३ महिनादेखि अवरुद्ध बारपाक–लाप्राक सडक अझै खुलेन

३ महिनादेखि अवरुद्ध बारपाक–लाप्राक सडक अझै खुलेन


गोरखा ।

पर्यटकीय गन्तव्य गोरखाको बारपाक र लाप्राक जोड्ने सडकखण्ड झन्डै ३ महिनादेखि अवरुद्ध छ।

वर्षा सुरु भएदेखि नै पहिराले अवरुद्ध भएको सडक अझैसम्म पनि सञ्चालन हुन नसक्दा लाप्राकमा दैनिक उपभोग्य सामग्री पुर्‍याउनसमेत कठिनाइ भएको स्थानीयले बताएका छन्।

‘सडकमा गाडी चल्न नसकेको तीन महिना भइसक्दा पनि अवरुद्ध सडक अझै खुलाउने सुरसार देखिँदैन’, लाप्राकका स्थानीय वीरबल गुरुङले भने, ‘चाडबाडका बेलामा समेत भारी बोकेर खाद्य सामग्री लैजानुपर्ने बाध्यता लाप्राकवासीको छ।’ उनले अवरुद्ध सडक मर्मतसम्भारका लागि गाउँपालिकाले समेत आवश्यक पहल नगरेको गुनासो गरे।

बारपाक–लाप्राक सडकखण्ड विसं २०७७ जेठ ९ गते ठेक्का सम्झौता गरी सडक स्तरोन्नति सुरु भएको थियो। ठेक्का सम्झौता भएको झन्डै ४१ महिना भइसक्दासमेत स्तरोन्नति सकिएको छैन। पूर्वाधार विकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नति सम्पन्न गर्ने गरी शर्मा÷विक्वी जेभीसँग ठेक्का सम्झौता गरेको थियो।

कार्यालयले ठेकेदार कम्पनीसँग रु ३४ करोड १५ लाख ७१ हजार एक सय ९८ मा ठेक्का सम्झौता गरेको थियो। उक्त सडकको भौतिक प्रगति अहिलेसम्म ५२ प्रतिशतमात्र रहेको कार्यालयका प्रमुख गणेश सुवेदीले जानकारी दिए। कार्यालयले १३ दशमलव १४ किलोमिटर दूरीको वारपाक–लाप्राक सडक ग्राभेल गर्ने गरी ठेक्का सम्झौता गरिएको हो।

तोकिएको समयमा काम सम्पन्न गर्न नसक्ने भएपछि कार्यालयले गएको जेठ २२ गतेभित्रका काम सम्पन्न गर्ने गरी म्याद थप गरेको थियो। थपिएको म्याद सकिएको चार महिना भइसक्दा पनि सडक स्तरोन्नतिको काम भने अझै अलपत्र छ। ठेकेदार कम्पनीले सुस्तगतिमा काम गरेका कारण सम्झौता अवधिभित्र काम सम्पन्न हुन नसकेको प्रमुख सुवेदीले बताए।

सम्झौताअनुसार ठेकेदार कम्पनीले सडक ग्राभेल गर्ने, चौडा बढाउने, ग्रेडिङ मिलाउने, नाला बनाउनेलगायतको जिम्मेवारी पाएको छ। दुर्गम ठाउँ भएको, चिसोको समयमा हिउँ पर्ने, बर्खामा बेला निर्माण सामग्री लैजान समस्या हुने कारण देखाएर ठेकेदार कम्पनीले काम ढिलाइ भएको बताएको छ।

समयमै सडक स्तरोन्नति नहुँदा लाप्राक, गुम्दासम्म खाद्यान्न पुर्याउन, बिरामी ल्याउन लैजान कठिनाइ भोग्नुपरेको छ। गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले गुप्सीपाखमा निर्माण गरेको सुन्दर एकीकृत नमूना बस्ती हेर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकसमेत सडकयात्र सहज नहुँदा बारपाकबाटै फर्कने गरेका छन्।