दसैँतिहारमा पनि ट्यांकरकै भर, कहिले आउँछ मेलम्ची ?

दसैँतिहारमा पनि ट्यांकरकै भर, कहिले आउँछ मेलम्ची ?

विकास टाइम्स
300
Shares

काठमाडौँ ।

उपत्यकाबासीले यसपालिको दसैँमा पनि मेलम्चीको पानी खान नपाउने भएका छन् ।

गत असार ७ गतेदेखि बन्द गरिएको पानी फेरि कहिलेबाट उपत्यकामा वितरण हुने भन्ने विषय अन्योलमै रहेको छ । गत बर्खामा आएको बाढीले मेलम्चीको मुहानमा केही क्षति पनि भएको छ । तर, के कति क्षति भएको छ भन्ने विषयमा अवलोकनसमेत हुन सकेको छैन ।

मेलम्चीको १ देखि १० नम्बर गेटसम्म बाढीको लेदो पसेको अनुमान गरिएको मेलम्ची खानेपानी विकास समितिका सुचना अधिकारी  राजेन्द्रप्रसाद पन्त बताउँछन् ।

‘दसैँअघि पानी वितरण हुन सक्दैन,’ पन्तले विकास टाइम्ससँग भने, ‘कहिलेदेखि पानी वितरण हुन्छ, ठ्याक्कै भन्न सकिने अवस्था छैन ।’

पन्तका अनुसार हेडवर्क्ससम्म पुग्न नसकिएका कारण पनि पानी उपत्यका पठाउन कति समय लाग्छ भन्न सकिएको छैन । १ नम्बर गेटसम्म जान सक्ने अबस्था छैन । बर्खाको समयमा बाढीले बगाएका ठुला ढुंगा नपसोस् भनेर गेट बन्द गर्ने गरिन्छ ।

‘अहिले त्यो गेटमा माथिसम्म ढुंगा देखिएको छ,’ पन्तले भने, ‘त्यो ढुंगा हटाएर गेट खोल्नुपर्छ ।’ त्यसका लागि पानीको बहावलाई परिवर्तन गरेर गेट खोलेर सफा गर्नुपर्ने भए पनि गेट खोल्न स्काभेटर लानुपर्ने हुन्छ । त्यो अहिले सम्भव नहुने पन्त बताउँछन् ।

त्यो बन्द गरिएको गेट खोल्न र ढुंगा हटाउन स्काभेटर लाग्ने भएकाले त्यहाँसम्म पुग्ने बाटोको काम पहिले गर्नुपर्ने पन्तको भनाइ छ । ‘अहिले पनि मेलम्चीमा बाढी आइरहेको छ,’ उनले भने, ‘बाटो बनायो भने पनि बाढीले बगाइहाल्ने भएकाले बनाएको छैन ।’ बाढी आउन छाडेपछि भने बाटो बनाएर काम हुने उनी बताउँछन् ।

मेलम्ची आयोजना मर्मत गर्न अहिले मौसममा निर्भर रहनुपरेको अवस्था छ । उपत्यकामा पानी पर्न छाडे पनि माथिल्लो भेगमा पानी परिरहेकाले मर्मतको काम थाल्न नसकिएको पन्त बताउँछन् ।

‘तिहारपछिबाट सायद काम सुरु हुन्छ होला,’ पन्तले भने, ‘अहिले तुरुन्तै काम गरिहाल्ने अवस्था छैन ।’ मर्मत नहुनुमा त्यहाँ आएको बाढी मात्र कारण भने नभएको उनी बताउँछन् ।

अहिले मेलम्ची आयोजना प्रमुख पद पनि रिक्त छ । ‘अहिले आयोजना प्रमुख पनि हुनुहुन्न,’ पन्तले भने, ‘त्यसले गर्दा पनि आयोजनका कतिपय निर्णय गर्न कठिनाइ भइरहेको छ ।’

गत वर्ष हेडवर्क्स सफा गर्ने र ठुल्ठुला ढुंगा फुटाउने काम गर्ने मन्त्रिपरिषद्बाट निर्णय भएको पन्तले बताए । उनले भने, ‘यस वर्ष पनि खानेपानी मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर निर्णय भएपछि मात्रै काम गर्न सकिन्छ ।’

गत वर्ष मंसिर १२ गतेबाट सुरुङमा पानी पठाउन थालिएको थियो । उपत्यकामा भने मंसिर २३ गतेदेखि वितरण भएको मेलम्चीको पानी यो वर्ष कहिलेबाट वितरण हुन्छ, अनिश्चित भएको छ ।

मेलम्चीमा २०७८ साल असार १ र १६ गते आएको बाढीले मेलम्ची आयोजनाको हेडवर्क्समै क्षति पुर्‍यायो । बाढीले करिब ३ अर्ब रुपैयाँको क्षति भएको थियो ।

एकै महिनामा २ पटक आएको बाढीले ३५ अर्ब रुपैयाँ लगानीमा बनेको मेलम्ची आयोजनाको २२ किलोमिटरको पहुँच मार्ग, ६ वटा पुल, निर्माण सामग्री राखिएको गोदाम र मेलम्ची आयोजनाको कार्यालयको संरचना बगाएको थियो ।

बाढीले क्षतविक्षत बनाएपछि यसको दीर्घकालीन समाधान कहिले भइसक्छ भन्ने समेत कुनै टुंगो छैन । ‘यसको दीर्घकालीन समाधानका लागि हेडवर्क्स (मुहान) नयाँ ठाउँमा बनाउनुपर्ने अध्ययन प्रतिवेदनले देखाएको छ,’ पन्तले विकास टाइम्ससँग भने, ‘त्यसको कार्यान्वयन गर्न कम्तीमा ४ वर्ष लाग्ने देखिन्छ ।’

सरकारले समयमा बजेट दिने, खरिद कार्य तत्काल अगाडि बढाउने, डिजाइन १ वर्षभित्र सक्ने र उक्त आयोजनालाई सरकारलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाउने हो भने आगामी ४ वर्षभित्रमा अर्को ठाउँमा हेडवर्क्स बनाएर दीर्घकालीन रूपमा मेलम्चीको पानी ल्याउन सकिने मेलम्ची समितिको भनाइ छ ।

‘राष्ट्रिय गौरवको आयोजना बनाएर अझ विशेष प्राथमिकतामा लाने हो भने अझ चाँडो सम्पन्न गर्न सकिन्छ ।’ पन्तले भने ।

दसैँमा उपत्यकामा कति पानी चाहिन्छ ?

काठमाडौँ उपत्यकामा दैनिक ३५ करोड लिटरभन्दा बढी पानीको माग रहेको मेलम्ची खानेपानी विकास समितिले २०७३ सालमा गरेको अध्ययनले देखाएको थियो । उपत्यकामा त्यसयता पनि जनसंख्या उल्लेख्य वृद्धि भएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईका अनुसार उपत्यकामा ४७ करोड लिटर दैनिक पानीको माग छ ।

जनसंख्या वृद्धिकै आधारमा पानीको माग बढ्ने गरेको मेलम्ची आयोजनाका पन्त बताउँछन् । समितिले एक जना व्यक्तिले दिनमा १०० लिटर पानी खर्च गर्छ भन्ने अनुमानका आधारमा पानीको खपत निकाल्ने गरेको पन्त बताउँछन् ।

राईका अनुसार काठमाडौँमा मेलम्चीको पानी नआउँदाको समयमा १९ करोड लिटर दैनिक पानी वितरण भइरहेको छ ।

‘यदि मेलम्चीको पनि पानी आउने हो भने करिब ३२ करोड लिटर दैनिक पानी आपूर्ति गर्न सकिन्छ,’ राईले विकास टाइम्ससँग भने, ‘त्यसले गर्दा दिन बिराएर उपत्यकामा सहज तरिकाले पानी वितरण गर्न सकिन्छ ।’

यातायात व्यवसायी महासंघका अनुसार दसैँका बेला २० देखि २५ लाख मानिसले उपत्यका छाड्ने गरेको बताउँदै आएका छन् । तर, त्यति व्यक्तिले उपत्यका छाड्दा पनि काठमाडौँमा पानीको आपूर्तिमा भने त्यस्तो फरक नपर्ने उपत्यका खानेपानी लिमिटेडले बताएको छ ।

‘हाम्रोमा वितरण र मागबीच धेरै अन्तर भएकाले पनि दसैँको बेला पनि त्यस्तो फरक पर्दैन,’ प्रवक्ता राईले भने, ‘केही सहज मात्र हुन्छ, तर त्यो पूरा सहज भने होइन ।’

पुरानो वितरण प्रणाली भएकाले पानी पर्याप्त भएको ठाउँमा पनि पुर्‍याउन नसकिएको अवस्था रहेको राइको भनाइ छ । ‘कतिपय अग्ला ठाउँमा पनि पानी पुर्‍याउन सकिएको छैन,’ राईले भने, ‘१० वटा घरलाई हेरेर वितरण प्रणाली बनाइएको ठाउँमा सयौँ घर बनेका छन् । त्यसले गर्दा पनि समस्या भएको छ ।’

राईको कुरामा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सन्तोष बराल पनि सहमत छन् । ‘मानिसको संख्या घटेपछि पक्कै पनि पानीको माग घट्छ,’ बरालले विकास टाइम्ससँग भने, ‘तर, आपूर्तिमा भने त्यति धेरै फरक भने आउँदैन ।’

दसैँ–तिहारका बेला कुनै समस्या आएमा सानो टिमले काम भने नियमित गर्ने गरेको बरालको भनाइ छ । ‘चाडबाडको बेलामा प्रायः सबै जना बिदामा हुनुहुन्छ,’ बरालले भने, ‘कुनै समस्या आएमा एउटा सानो टिमले काम गर्छ, जसलाई हामीले सम्पर्कका आधारमा समस्या समाधान गर्न लगाउँछौँ ।’

उपत्यकामा पानीको ४५ प्रतिशत पूर्ति भूमिगत पानीबाट गरिएको विभिन्न समयमा गरिएको अध्ययनले देखाएको छ ।