भूमिका मृत्यु प्रकरण : पैसा लिएर प्रेमी पुग्दा ढोका खुलेन, विषको बट्टा बरामद

भूमिका मृत्यु प्रकरण : पैसा लिएर प्रेमी पुग्दा ढोका खुलेन, विषको बट्टा बरामद


काठमाडौं ।

काठमाडौं महानगरपालिका–११, सुन्धारास्थित श्रीगुरु गेस्ट हाउसमा १७ वर्षीया भूमिका राउत मंगलबार बिहान मृत फेला परिन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उक्त गेस्ट हाउसमा उनी र उनका प्रेमी १५ दिनदेखि बसेको खुल्न आएको छ ।

३ दिनअघि उनीहरुसँग भएको पैसा सकियो । पैसा लिएर आउँछु भन्दै प्रेमी बाहिर निस्किए ।

पैसा लिएर सोमबार बिहान प्रेमिका बसेको होटलमा पुग्दा उनले ढोका खोलिनन् । धेरै पटक ढक्ढक्याउँदा पनि नखुलेपछि शंका लागेर प्रहरीलाई खबर गरेको बताइएको छ ।

लगत्तै प्रहरी वृत्त, जनसेवाको टोली पुगेर ढोका फोड्यो । त्यसक्रममा भूमिका मृत अवस्थामा भेटिइन् । नजिकै विषको बट्टा पनि बरामद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

मंगलबार राउतको परिवारले प्रेमीविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएको छ । लगत्तै प्रहरीले प्रेमीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । काठमाडौं प्रहरीका अनुसार, उनलाई हिरासतमा राख्न अनुमति लिन अदालतमा पुर्‍याइएको छ ।

घटनास्थलमा सुसाइड नोट वा अरु कुनै संकेत फेला परेको छैन । प्रहरीका अनुसार, युवतीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ भने युवतीको भिसेरा जाँच पनि गर्ने तयारी छ ।