प्रहरी हिरासत भित्र थुनुवामाथी चरम यातना, न्याय खोज्दै मानव अधिकार आयोगमा उजुरी

प्रहरी हिरासत भित्र थुनुवामाथी चरम यातना, न्याय खोज्दै मानव अधिकार आयोगमा उजुरी


स्याङ्जा ।

शान्ति सुरक्षा र अपराधिक क्रियाकलाप नियन्त्रण गर्ने नेपाल प्रहरीको कुनै बेला नारा थियो ‘प्रहरी मेरो साथी’ ।

प्रहरी हाम्रो साथी हो भन्ने नारा लिएर गाउँ टोलका समुदाय स्तरमा पुगेको प्रहरीनै दुश्मन बन्छ भन्ने बिषय यतीबेला उदाङ्गो बनेको छ ।

स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङमा थुनुवा माथि चरम यातना दिएको भन्दै पिडितहरुले न्याय खोज्दै जिल्ला प्रशासन कार्यालय र मानव अधिकार आयोगमा उजुरी गरेपछि यो नारा उदाङ्गो भएको हो ।

गत भदौ २६ गते वालिङ स्थित एक होटलमा भएको कुटपिटको घटनामा संलग्न ४ जनालाई वडा प्रहरी कार्यालय वालिङवाट आएको टोलीले नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेर कारवाहि गरिरहेको थियो । थुनुवा कक्षमा रहेका उनीहरु माथि प्रहरीले चरम यातना र कुटपिट गरेको पिडितहरुको आरोप छ ।

पिडितहरुले आफूहरुलाई प्रहरी कार्यालय भित्रै हतकडी लगाएर चरम यातना र कुटपिट गरेको आरोपमा जिल्ला प्रशासन स्याङ्जा र मानव अधिकार आयोग समक्ष उजुरी गरेको जानकारी गराएका छन् ।
घट्नामा संलग्न वालिङका अशोक श्रेष्ठ, दिपेन्द्र अर्याल, रेशमवहादुर आले र मिलन कुँवरलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखेको थियो ।

हिरासतमा रहेकै अवस्थामा राती ९ बजेदेखी १ बजे सम्म हतकडी लगाएर वाहिर उभ्याएर राखेको र थुनामा रहेका अर्याललाई चरम कुटपिट गरी घाईते वनाएको उनीहरुले दिएको निवेदनमा उल्लेख छ । कुटपिटबाट अर्यालको उच्च रक्तचाप भएपछि तत्काल गह्रौ ध्याङलिङ अस्पतालमा उपचारको लागि लगेको वुझिएको छ ।

अस्पतालले उनको अवस्था गम्भीर भएपछि थप उपचारको लागि वुटवल रिफर गरेको पिडितको भनाइ छ । अर्याल एक हप्तापछि उपचार गरेर पुन प्रहरीको सम्पर्कमा पुगेका थिए । उनको शरिरमा निलडाम र खुट्टामा गहिरो चोट लागेको बताइएको छ ।

कुटपिटको मुद्दामा रहेका उनीहरुको अदालतले सामान्य धरौटीमा छाडेपछि उनीहरुले न्यायको लागि जिल्ला प्रशासन र मानवअधिकार आयोगमा उजुरी गर्न पुगेको जनाएका छन् । हिरासतमा रहेका वेला वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक इकवाल हवारी र प्रहरी निरिक्षक जनक बञ्जराको निर्देशनमा एक प्रहरी हवल्दारले निर्घात कुटपिट गरेको पिडितहरुको आरोप छ ।

कुटपिट गर्ने क्रममा बञ्जराले मोवाईलमा भिडियो कल गरेर प्रशान्त भन्ने व्याक्तिलाई देखाएको पिडितको निवेदनमा उल्लेख गरिएको छ । प्रसान्त भन्ने व्याक्ति आफुले नचिनेको पिडित अर्यालले बताए । भिडियोकलबाट प्रशान्त भन्ने व्याक्तिले हात खुट्टा भाच्नेगरी कुट्दे भनेको आफुले सुनेको निवेदनमा उल्लेख गरेका छन् । प्रहरी नायव उपरिक्षक हवारी र निरिक्षक बञ्जराले पिडितहरुले भने जस्तो कुटपिट नगरेको दावी गरेका छन् ।

प्रहरीले नियन्त्रणमा लिइसकेपछि हिरासत भित्र कुटपिट लगायतका यातना दिन नपाइने कानुनी मान्यता रहँदा पनि यस्ता घटना बाहिरिनुले प्रहरीले अगाडी सारेको ‘प्रहरी मेरो साथी’ भन्ने नारा प्रतिको विश्वासमा शंका उत्पन्न भएको स्थानीयहरु वताउँछन् । घटनाको सत्य तथ्य छानविन गरी दोसि प्रहरीलाई कारवाही गरिनुपर्ने उनीहरुको माग छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले प्रहरीले कुटपिट गरेको बिरुद्धमा निवेदन आएको र छानविनको प्रक्रिया अगाडी बढेको बताए । यो घट्नालाई जिल्ला प्रशासन, राष्ट्रिय मानव अधिकार आयोग र स्वंय जिल्ला प्रहरी कार्यालयले कसरी लिने छ त्यो भने हेर्न बाँकी छ ।