विद्यालय व्यवस्थापन समितिद्वारा ४९ लाख रुपैयाँ हिनामिना

विद्यालय व्यवस्थापन समितिद्वारा ४९ लाख रुपैयाँ हिनामिना


सप्तरी ।

डाक्नेश्वरी नगरपालिका–५ मा रहेको कन्तचन्द्र नमुना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिद्वारा नै लाखौँ रकम हिनामिना भएको खुलेको छ ।

विद्यालयको लागि विभिन्न शैक्षिक सामग्री तथा भौतिक स्रोतसाधन जुटाउन नमुना विद्यालय अन्तर्गत गत आर्थिक वर्षको बजेटबाट ४९ लाख रुपैयाँको अनियमितता भएको आरोप छ ।

विद्यालयका प्रधानाध्यापक शरदकुमार देवले ४ महिनादेखि आफू प्रधानाध्यापकका रूपमा कार्यरत रहे पनि कुनै पनि कागजात जिम्मा नलगाइएको बताए । पूर्वप्रधानाध्यापक योगेन्द्रप्रसाद मेहताले विद्यालयको आर्थिक तथा अन्य हिसाब विद्यालय प्रशासनलाई गर्नुपर्ने बरबुझारथ नगरेको उनले बताए।

“यो सामान, त्यो सामान खरिद गर्छु भन्दै विभिन्न व्यक्तिका नाममा पटक पटक गरी ४९ लाख रुपैयाँको निकासा भइसकेको छ, उक्त रकमबाट किनेको न कुनै सामान देखाउँछन् न त कुनै बिल भर्पाई नै छ,” प्रधानाध्यापक देवले भने ।

विभिन्न आवमा भएको आर्थिक अनियमितता, खरिद प्रक्रिया र शिक्षकहरूको कामकारबाही सन्दर्भमा भदौ ७ गते नै वडा कार्यालयले चिठी लेखेर विद्यालय प्रशासनसँग सूचना माग गरेको थियो ।

माग गरिएबमोजिमको सूचना र कागजात नभएको भन्दै विद्यालय प्रशासनले वडा कार्यालयलाई सूचना उपलब्ध गराएको छैन । सूचनाको हक अन्तर्गत सूचना दिन नसकेको कारणबारे विद्यालयकै लेटरप्याडमा जवाफ लेखेर असोज २२ सोमबार नै वडा कार्यालयलाई पठाइसकेको प्रधानाध्यापक देवले जानकारी दिए ।

यस विद्यालयमा नमुना विद्यालय अन्तर्गत सङ्घीय सरकारको प्रत्येक वर्ष करोडौँ रकम आउने गरेको छ । गत आव २०७८र७९ मा आएको डेढ करोड रुपैयाँमध्ये आइसिटी कार्यक्रमका लागि एक करोड रुपैयाँ खर्च भएको थियो ।

उक्त कार्यक्रम अन्तर्गत खरिद गरिएको कम्प्युटरलगायतका स्रोतसाधन दुई वर्ष बितिसक्दा पनि विद्यार्थीको पठनपाठनमा प्रयोग भएको छैन ।

कम्प्युटरलगायतका सामग्री विद्यालयको गोदाममा ताल्चा लगाएर राखिएको स्थानीय युवक यादवले बताए । –गोरखा पत्र