३ दिनमा १२ सय च्यांग्रा बजार झरे, एउटा च्यांग्राको दाम ४० हजार

३ दिनमा १२ सय च्यांग्रा बजार झरे, एउटा च्यांग्राको दाम ४० हजार


म्याग्दी ।

दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुन थालेको छ ।

म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले मङ्गलबारसम्म १ हजार २ सय भेडा च्याङ्ग्रा निकासी भएको जानकारी दिए ।

“जोमसोमको नाकाबाट मङ्गलबार मात्रै ४ सयवटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ”, उनले भने, “पछिल्लो तीन दिनको अवधिमा १ हजार २ सय च्याङ्ग्रा निकासी भएको छ ।”

प्रतिगोटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेबापत पशु चिकित्सकलाई १५ शुल्क तिर्नुपर्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । यस वर्ष दसैँका लागि मुुस्ताङका कृषकले पालेका ४ हजार र डोल्पाबाट आउने ४ हजार गरी ८ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरेको पोखरेलले बताउनुभयो ।

कृषकले प्रतिगोटा ३५ देखि ४० हजारको हाराहारीमा च्याङ्ग्रा बिक्री गरेका उनले बताए । गत वर्ष ६ हजार ६ सय, २०७८ सालमा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको सङ्ख्यामा मुुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।

पछिल्लो ४ वर्षयता चिनियाँ च्याङ्ग्रा नआएको र मुुस्ताङमा च्याङ्ग्रा कम भएकाले माग धान्न नसकेर मूूल्य बढेको कृषक करन गुुरुङले बताए । ३ देखि ४ वर्ष उमेरका च्याङ्ग्रा मासुका लागि बजार पठाउने गरिएको छ ।

हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको अनुभव छ । दसैँ–तिहारमा च्याङ्ग्राको मासुको खपत बढी हुुने गर्छ ।

मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्ग्रा पालिएका छन् । ६५ वटा ठूला च्याङ्ग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० वटासम्म घर–घरमा च्याङ्ग्रा पालेका छन् । हिमचुतुवा, ब्वाँसो र जङ्गली कुकुरले च्याङ्ग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ ।

३ वर्षअघिसम्म प्रतिगोटा च्याङग्राको २५ हजार थियो । कोरोना महामारीका कारण चिनियाँ कोरला नाकाबाट च्याङ्ग्रा आयत नभएकाले मुस्ताङको च्याङग्राको मूल्य बढेको व्यापारी यामबहादुुर कार्कीले बताए ।

वैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङ्ग्रा आयात हुने गर्दथ्यो । मुस्ताङी च्याङ्ग्राको हुल भित्रिएसँगै दसैँ आगमनको महसुस गराउँछ ।