तरकारीले बनायो ५ करोडको मालिक

तरकारीले बनायो ५ करोडको मालिक


अर्घाखाँची ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र काँक्रो मात्रै अहिले एक हजार ८ सय बोट लगाएका छन् । सबै बोटमा लटरम्मै काँक्रो फलेको छ ।

हाइटेक प्रविधिबाट टमाटर खेती सुरु गरेका उनले एउटा हाइटेक प्रविधिबाट र स्थायी टनेलमा लगाएको काँक्रो खेतीबाट यो याममा ७ लाख बराबरको काँक्रो उत्पादन गर्ने लक्ष्य लिएका छन् । दैनिक ३÷४ क्विन्टल फलेका काँक्रोले बजार पनि राम्रो पाएको छ । प्रतिकेजी ८० देखि ९० सम्म थोक मूल्यमा काँक्रा बिक्री गर्नाका साथै दैनिक १० हजार बराबरको अन्य तरकारी पनि सन्धिखर्क बजारमा बञ्जाडेले बिक्री गरिरहेका छन्।

उनले २५ रोपनी बारी र सात रोपनी खेतमा तरकारी खेती गर्दै आएका छन् । अन्नखेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा २० लाख आम्दानी हुँदै आएको छ । बञ्जाडेले गरेको देखासिकीबाट सिङ्गो गाउँवासी नै अहिले तरकारी खेतीमा लागेका छन् ।

उहाँले भने, “अन्न हुने यस्ता बारीमा तरकारी खेती गर्छुभन्दा बुद्धि बिग्रेकोे मान्छे भनेर इष्र्या गर्थे तर तरकारीबाट राम्रो आम्दानी भएपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेसा बनाएका छन् ।” बञ्जाडे जिल्लाकै नमूना कृषक हुन् ।

सामान्य परिवारमा जन्मिएका उनलाई २०३९ सालमा एसएलसी उत्तीर्ण गरेपछि सरकारी निकायमा स्थायी जागिर खाने अवसर पाउँदा पनि जागिरतिर इच्छा जागेन । महिना पुगेपछि पाइने तलबको जागिर सबैभन्दा टाउको दुखाइ बन्यो । जागिरभन्दा उत्पादनमूलक अर्को पेसामा लाग्ने सोच बनाएका बञ्जाडेले तरकारी खेतीबाटै वार्षिक लाखौँ रुपैयाँ कमाउँदै आएका छन् ।

उनले भने, “गरेपछि जुन काममा पनि सफलता मिल्छ निरन्तर काम गरिरहनुपर्छ अहिले बारीमा आलु, बन्दागोभी, टमाटर, काँक्रोलगायत तरकारी उत्पादन भइरहेका छन् । सुरुमा सानो लगानीबाट तरकारी खेतीे सुरुआत गरेका उनलाई ५ करोडभन्दा बढीको मालिक बन्न सफलता मिलेको छ ।

किमडाँडाको पाखोबारीमा अहिले मौसमी तथा बेमौसमी तरकारी बाह्रैमास उत्पादन भइरहेको छ । तरकारीबाट वर्षमा १०÷१५ लाख सजिलै कमाएपछि बञ्जाडेले ३ करोडभन्दा बढीको घर र घडेरी जोडिसकेका छन् । यिनै भिरका बारीमा माटोसँग लडेर करोडपति बन्ने सपना पूरा भएको उनले बताए ।

पाखो बारीमा तरकारीका लागि सिँचाइको पनि साह्रै समस्या छ । बारीमा आकाशे पानी संकलन गर्न ५० हजार लिटरको पानी संकलन गर्ने पोखरी ४० हजार लिटरको ट्याङ्की बञ्जाडेले बनाए । त्यहीँबाट सिँचाइ हुन्छ । गाउँबाट रोजगारीका लागि विदेश जाने युवालाई तरकारी र जर्सी गाई पाल्न सुझाव दिइएकाले धेरै यतातिर तानिएका छन् ।

बर्सात्को समयमा उनले उत्पादन गरेको तरकारी दुई वर्षअघि भारतको दिल्लीसम्म पुगेको थियो । “अत्यन्तै दुःख गरेर उत्पादन गरेको तरकारी दिल्लीसम्म पुग्दा त्यसबेला मलाई सबैभन्दा बढी गर्व भयो,” पुष्करनाथले भने, “पहाडको तरकारी पोषिलो र स्वादिलो मान्दै सीमानाकाका व्यापारी घरमै आए र त्यो तरकारी दिल्ली पु¥याए ।”