कालीगण्डकी प्रसारण करिडोर : खुर्कोट–न्यूबुटबल खण्डको परीक्षण सफल

कालीगण्डकी प्रसारण करिडोर : खुर्कोट–न्यूबुटबल खण्डको परीक्षण सफल


पर्वत ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गत पर्वतको खुर्कोट–न्यूबुटबल खण्डको परीक्षण सफल भएको छ ।

कालीगण्डकी करिडोरको २२० केभी प्रसारण लाइनअन्तर्गत यो खण्डको काम पूर्ण भएपछि असोज १० गतेदेखि चार्जिङ सुरु भएको थियो ।

विद्युत् प्रसारण र चार्जिङ सुरु भएसँगै अहिले लोड लिइरहेको आयोजनाले जनाएको छ । सो आयोजनाबाट निर्माण भएको खुर्कोट– न्यु बुटवल खण्डअन्तर्गत पर्वत जिल्लाको कुश्मा नगरपालिका– २ खुर्कोटस्थित खुर्कोट सबस्टेसन देखि बागलुङ, पर्वत, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी जिल्लाको सुनवल नगरपालिकामा अवस्थित न्यु बुटबल सबस्टेसनसम्म करिब ९० किलोमिटर लामो २२० केभीको डबल सर्किट प्रसारण लाइनको परीक्षण सफल भएको आयोजनाका सुपरभाइजर देव शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार असोज ३० गते गरिएको पहिलो चरणको परीक्षण प्रसारणसमेत सफल भएको थियो । ‘खुर्कोट–न्यू बुटवल सबस्टेसनसम्म लाइन तानेर परीक्षणको काम पूरा भएपछि प्रसारण लाइनले ‘लोड’ लिएको छ । सुपरभाइजर पौडेलले भने, ‘लाइनमा अहिले चार्ज मात्रै छ, करेन्ट प्रवाह भएको छैन ।’

विद्युत् प्रसारण भने दुवै सर्किटमा भइरहेको भन्दै उनले तयार भएको कोरिडोरको लाइन क्षमता १२ सय मेगावाट भएकाले यो दीर्घकालीन रूपमा पनि निकै लामो आयु भएको आयोजना भएको बताए ।

तत्कालका लागि १०० मेगावाट विद्युत् मात्रै यो लाइनमा पठाउने तयारी छ । यो लाइनको क्षमताका लागि भूमहीमा अहिले १०० एमबीए क्षमताको ‘ट्रान्सफर्मर’ राखिएको सुपरभाइजर पौडेलको भनाइ थियो ।

आयोजनाले १–२ महिनाभित्रै ३१५ एमभिएको ‘ट्रान्सफर्मर’ राखेर धेरै विद्युत् प्रसारणको तयारी गरिरहेको छ । आयोजनाका सहायक इन्जिनियर युवराज पाण्डेका अनुसार करिडोरअन्तर्गत खुर्कोट–न्यु बुटबल खण्डको काम सकिएको र चार्जिङसमेत भइरहेको छ ।

अहिलेसम्मको सबै परीक्षण सफल भएका छन् । यस प्रसारण लाइनको क्षमता २ हजार मेगावाट छ । चार्जिङ सम्पन्न भएपछि केही दिनमा अहिलेका लागि झन्डै १०० मेगावाट विद्युत् प्रवाह हुने सहायक इन्जिनियर पाण्डेले जानकारी दिए ।

कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण गरिएको हो ।

आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित दानाबाट पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९.६ किलोमिटरको पहिलो खण्ड निर्माण भई २ वर्ष अघिदेखि नै सञ्चालनमा आइसकेको छ भने खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण गरिएको छ ।

करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भूमहीस्थित (न्यु बुटवल सबस्टेसन)सम्मको झन्डै ९० किलोमिटर प्रसारण लाइन निर्माण सकिएसँगै आयोजनाको अधिकांश काम सकिएको छ । यस खण्डमा २३५ वटा टावर निर्माण गरिएको छ ।