बीपी प्रतिष्ठानका १४० चिकित्सकले दिए सामूहिक राजीनामा

बीपी प्रतिष्ठानका १४० चिकित्सकले दिए सामूहिक राजीनामा


विराटनगर ।

आफ्ना मागप्रति सरकार अनुहार रहेको भन्दै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत १ सय ४० जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लामो समयदेखि रोकिएको वृत्ति विकासको माग गर्दै चिकित्सकहरु आन्दोलित हुँदै आएका छन् । सम्बन्धित निकायले मागको सुनुवाइ नगरेको भन्दै उनीहरु सरकारको ध्यानाकर्षण गराउन संघीय राजधानी काठमाडौं गएका थिए ।

प्रतिष्ठानका पदाधिकारीबाट मागको सुनुवाइ नभएपछि आन्दोलनरत १७७ जना चिकित्सकहरु स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेट्न काठमाडौं गएका थिए ।

काठमाडौं गएका १ सय ७७ जनामध्ये मन्त्री बस्नेत आफूहरुको मागप्रति अनुदार रहेको भन्दै असन्तुष्ट बनेका १ सय ४० जनाले सामूहिक राजीनामा दिएका हुन् ।

७ वर्षदेखि आफूहरुको बढुवा रोकिएको भन्दै चिकित्सकहरु आन्दोलित बनेका थिए । मागमा सुनुवाइ नभएपछि मन्त्री बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामा पत्र बुझाएको प्रतिष्ठानका सहप्राध्यापक डा. एसपी रिमालले जानकारी दिए ।

आफ्ना माग सुनुवाइ गराउन चिकित्सकहरुले केही समययता दबाबमूलक आन्दोलन गर्दै आएका थिए ।