काठमाडौं ।
एमसीसी परियोजना अन्तर्गत बन्ने प्रसारणलाइन आयोजनाको लागि आह्वान भएको ठेक्का रद्द भएको छ ।
लागत अनुमानभन्दा अस्वाभाविक बढी रकम राखेर टेण्डर आह्वान भएपछि कार्यान्वयन निकाय एमसीएले ठेक्का रद्द गरेको हो ।
यससंगै अब आयोजना कार्यान्वयन गर्ने एमसीए नेपालले पुन: ठेक्का खुलाउने छ । एमसीए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि गत जेठ ८ गते बोलपत्र आह्वान गरेको थियो ।
एमसीए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको थियो । पहिलो समुहमा लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा २१७ किलोमिटर लामो प्रसारण लाइन चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । त्यस्तै, रातमाटे–दमौली ९० किलोमिटर लामो चार सय केभी दोस्रो समुहमा रहेका छन् ।
न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको कूल १८ किलोमिटर लामो प्रसारण लाइन तेस्रो समुहमा समेटिएको छ ।
एमसीसीले यी प्रसारणलाइनको लागत २२ करोड ६ लाख अमेरिकी डलर पर्ने अनुमान गरेको छ । तर ठेक्कामा न्युनतम प्रस्ताव नै ६६ प्रतिशतभन्दा बढी अर्थात् ३६ करोड ५९ अमेरिकी डलरको परेको थियो ।
प्रतिक्रिया