दसैँकाे खानपिनमा यस्ता रोगिहरु सजग भएकै राम्राे !

दसैँकाे खानपिनमा यस्ता रोगिहरु सजग भएकै राम्राे !


काठमाडाैँ ।
दसैंको बेला प्राय सवैको घरमा विभिन्न परिकारहरु खाने गरिन्छ । विशेष गरि दसैंको बेला मासु अत्याधिक मात्रामा खाने गरिन्छ । बढी मासु खानाले स्वस्थ्य मानिसलाई पनि असर गर्छ भने विभिन्न प्रकारका रोग लागेका व्यक्तिले दसैंमा परिकारहरु खादा धेरै ध्यान दिनु पर्ने हुन्छ ।

तपाईहरु मध्ये धेरैलाई मोटो शरीर, रगतमा कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड भएका व्यक्तिले के खाने ? के नखाने ? भन्ने कुरा थाहा नहुन पनि सक्छ । भेटघाट, रमाइलो गर्नेभन्दा पनि स्वादको पछाडि लागेर खानपिनमा सामान्य हेलचेक्राइँ गर्दा धेरैको चाडबाड अस्पतालमा बित्ने गरेको देखिन्छ । आउनुहोस् आज हामी तपाईलाई रोगिले के खाने ? के नखाने भन्ने बारेमा जानकारी दिन्छौँ ।

कुन रोगका बिरामीले के खाने, के नखाने ?

बाथका रोगीः- बाथका रोगीले चाडबाडको समयमा रेड मिट (रातो मासु) अर्थात् खसी, राँगा आदिको मासु र रक्सी खानुहुन्न । शाकाहारीले पनि गोलभेडा, पालुंगोको साग, तामा, गुन्द्रुक, अमिलो पदार्थ, काउली नखाँदा राम्रो हुन्छ ।

खानै परेमा थोरै मात्र खाने तर बिहान शारीरिक अभ्यास गर्ने । बाथ अव्यवस्थित खानाको कारणले गर्दा हुने रोग भएकाले बढी चिल्लो, प्रोटिनयुक्त खाना नखाने तथा मदिरा र धुम्रपान नगर्दा नै राम्रो हुन्छ ।

मिर्गौला रोगीः- मिर्गौला रोगीले चाडको सययमा नेपालीहरूले खाना होस् या खाजा, मिल्नेले मासु छुटाउँदैनन् । पर्वमा मासुभात, मासुचिउरा तथा मासुका अनेक परिकारसँगै मसालेदार र अधिक चिल्लो भएका खानेकुरा बढी प्रयोग हुन्छ ।

यसका साथै मदिरा पनि अत्यधिक मात्रामा पिउने गरिन्छ । चिल्लो र मदिराको अव्यवस्थित खानपानका कारण मिर्गौला असन्तुलन हुन गई फेलसमेत हुन सक्ने सम्भावना रहन्छ । त्यस कारण मिर्गौला रोग लागिसकेकाले चाडबाडमा मासु र अत्यधिक चिल्लो खानु हुँदैन ।

मधुमेहका बिरामीः- मधुमेहका बिरामीले चाडबाडको समयमा मधुमेहका बिरामीले चिनी र चिनीबाट बनेका परिकार खानु हुँदैन । यस्ता बिरामीले आलुको अचार, ड्राइफुड, जंक फुड, बोसो भएको मासु नखानु बेस हुन्छ । बिरामीले मह, केक, पेय पदार्थ, हर्लिक्स, आइसक्रिम, जाम, जेली, सक्खर, तेलमा तारेका खाना वा बोसो जन्य उत्पादन आदि खानु हुँदैन । धुमपान र मद्यपान त गर्नै हुँदैन ।

मधुमेहीले थोरै मात्रामा चामल, गहुँ, मकै, फापर, कोदो, जौ, चिउरा, भुजा कर्नफ्लेक्स, चाउमिन, गेडागुडी खान मिल्छ । माछा, मासु, अन्डा, फलफूल, वनस्पति तेल थोरै, स्वास्थ्यको ख्याल गरेर खान सकिन्छ । स्वस्थ मानिससरह हरिया सागसब्जी, करेला, काउली, गोलभेडा, इस्कुस, घिरौँला, सलाद, साग, काँक्रो, सेतो मुला, बन्दा, रायो, कुरिलो, चम्सुर, पालुंगो, गाँजर, कागती आदि रोगीले खान मिल्छ । यस्तै पेय पदार्थमा चिनी तथा घ्यु नभएका चिया, कफी, सुप खान सकिन्छ । खाना खानै परे पनि नियमित क्रियाकलाप र शारीरिक व्यायम आवश्यक छ ।

कलेजोका बिरामीः- कलेजोका बिरामीले विशेषगरी मदिरा, बोसोयुक्त र चिल्लो खानाकै कारण कलेजोमा समस्या निम्तने हो । चाडबाडको समयमा खानामा ध्यान नदिँदा कलेजो बिग्रन सक्छ ।

मानिसको रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ यसले दिमाग र स्नायु प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पार्दै जान्छ ।रक्सीलाई पचाउने काम कलेजोको हो ।

कलेजोमा रक्सी जम्मा हुँदै टुक्रिँदै जल्दै जान्छ, यस क्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ । ऊर्जा खर्च भएन भने त्यो बोसोमा परिवर्तन भई कलेजो, रक्तनली र मुटुमा जम्मा हुन पुग्छ ।

रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नुपर्ने भएकोले कलेजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जान्छ । यसका लागि नियमित व्यायाम गर्न जरुरी छ ।

मुटु रोगिः- मुटुरोगका बिरामीले नेपालीको भान्सामा पाक्ने खानेकुरा सामान्य चाडबाडमा मात्र नभई अन्य समयमा पनि मुटुका लागि उपयुक्त हुँदैन । पर्वको समयमा बढीजसो रातो मासुका परिकार बनाउने गरिन्छ, यो मुटु रोगीका लागि झनै घातक हो ।

मुटुका बिरामीले विशेषगरी चाडबाडको समयमा स्वास्थ्यको निकै ख्याल गर्नुपर्छ । रातो मासु नखाने, रक्सी सेवन नगर्ने, धुम्रपान नगर्ने, चिल्लो पदार्थ कम गर्ने, कुखुरा माछा पनि थोरै मात्रामा खाने, चिल्लो बढी भएको माछामासु तथा अन्य खानेकुरा खाँदै नखाने, नुन धेरै हालिएको खानेकुराबाट पनि टाढा हुनु पर्छ ।
मुटुका बिरामीहरूले एक-दुई टुक्रा सेतो मासु र प्रशस्त मात्रामा हरियो सागसब्जी तथा फलफूल खानु नै सबैभन्दा उत्तम उपाय हो ।

रक्तचापः- उच्च रक्तचाप भएकाहरूले मासुको परिकार धेरै चिल्लो हुने भएकाले उच्च रक्तचाप भएकाले यस्तो परिकार खानु हुँदैन । रातो मासु र चिल्लो दुवै रक्तचापका बिरामीलाई हानिकारक हुन् ।

यो समयमा स्वास्थ्यको समस्याबाट जोगिन रातो मासु नखाने, रक्सी सेवन नगर्ने, धुम्रपान नगर्ने, चिल्लो पदार्थ कम गर्ने, कुखुरा र माछा पनि धेरै नखाने, चिल्लो बढी भएका माछामासु तथा अन्य खानेकुरा खाँदै नखाने, नुन धेरै हालिएको खानेकुरा खानु हुँदैन ।