काे हुन् काेसीका नयाँ मुख्यमन्त्री कार्की ?

काे हुन् काेसीका नयाँ मुख्यमन्त्री कार्की ?


काठमाडौँ ।

काेसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मध्यावधि निर्वाचनमा जानबाट रोकेर जनतामा आशा जगाउन आफू मुख्यमन्त्री बनेको दाबी गरेका छन्। मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कार्कीले संविधानवादलाई पार्टीले सकारात्मक लिने विश्वास व्यक्त गरे।

उनले पार्टीभन्दा पनि सांसदको सामूहिक अठोटले नयाँ सरकार बनेको दाबी गरे। उनले गठबन्धनमा उतारचढाव निरन्तर भइरहेकाले स्थिर सरकार बनाउन आफूले प्रयास गरेको धारणा राखे।

सत्ता गठबन्धनको मात्रै संसदको संख्याले मध्यावधिमा जाने बाटो देखिएकाले उनले नयाँ गठबन्धन बनाउन बाध्य भएको दाबी गरे। उनले भने,‘गठबन्धनले पटक पटक प्रयास गर्दा पनि सरकार स्थिर बन्न सकेन। दुई पटक प्राक्टिस गर्दा पनि पुगेन। हामीले मध्यावधि निर्वाचनमा जानबाट रोक्न सांसदले प्रयोग गरेको हो। यसलाई स्वभाविक रुपमा पार्टीले आत्मसाथ गर्छ भन्ने लाग्छ। संविधानले देखाएको बाटो अनुसार भएको हो। धैर्य गरे संविधान मान्ने पार्टी पनि यहि लाइनमा आउनेछ।’

गठबन्धनविरुद्ध विद्रोह गरेर मुख्यमन्त्री बन्न सफल भएका कार्की कोइराला परिवार निकट हुन् । स्वर्गीय गिरिजाप्रसाद कोइराला र नोना कोइरालाको अभिभावकत्वमा कार्कीले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक करियर सुरु गरेका थिए।

२०४४ मा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी २०५२ मा महेन्द्र मोरङ क्याम्पसको क्याम्पस इकाइ सभापति बनेका थिए। २०५९ मा जिल्ला सभापति हुँदै उनी २०६३ मा केन्द्रीय सदस्य बनेका थिए।

२०७४ मा पहिलोपटक निर्वाचनमा सहभागी भएका उनी पहिलो प्रदेशसभामा मोरङ ६ (ख)मा एमालेका रमेश पोखरेललाई पराजित गर्दै निर्वाचित भएका थिए। संसदीय दलको प्रमुख सचेतक हुँदै २०७८ मा उनी आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए।

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा कार्की नेकपा एमालेका परशुुराम बस्नेतलाई पराजित गर्दै निर्वाचित भएका थिए।

२०३० पुस ७ मा जन्मेका उनी जनता उच्च माध्यमिक विद्यालय मधेसामा २०४४ सालमा नेपाल विद्यार्थी संघको एकाइ सभापति भएका थिए।

विद्यालय स्तरको २०५२ सालमा नेविसंघकै क्याम्पस एकाइ सभापति भए। यसपछि उनी नेविसंघकै क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा केन्द्रीय सदस्यको भूमिकामा रहे। उनी हाल नेपाली कांग्रेसको महाधिवेशन हुन्।