‘माेदी नेपाली भूमिमा आउँदा सरकार र दलहरू किन चुपचाप ?’

‘माेदी नेपाली भूमिमा आउँदा सरकार र दलहरू किन चुपचाप ?’


काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल सरकारको जानकारीबिनै नेपाली भूमिमा आएकोप्रति आपत्ति जनाएका छन् । उनले त्यसबारे गठबन्धन सरकारसँग जबाफ मागेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी बिहीबार कुटी क्षेत्रमा आएर पार्वती कुण्ड गएका थिए । नेपाललाई जानकारी नदिई नेपाली भूमिमा आएको भन्दै दलहरूले सरकारसँग जबाफ मागेका छन् ।

खनालले भनेका छन्, ‘असोज २५ गते बिहीबार हाम्रो मातृभूमि नेपालको सुदूरपश्चिम दार्चुला जिल्लाको व्यास गाउँपालिका १ कुटी गाउँको जोलिङकाङ हेलिब्याडमा भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र भारतकै उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामी सशस्त्र फौज र सुरक्षाका साथ उत्रिए । त्यतिमात्र होइन उनीहरुले कुटी गाउँ स्थित पार्वती कुण्डमा पुजा आजा समेत गरे । यो आफैंमा एउटा अर्को आश्चर्यजनक घटनाका रुपमा देखा परेको छ ।’

कुटी, नापी र कुञ्जी जस्ता स्थानहरू लगायत महाकाली नदीको एकमात्र शिर लिम्पियाधुरा सम्मको भूभाग ऐतिहासिक एकीकरण देखि नै नेपालका अभिन्न भूभाग रहेको इतिहाससिद्ध, तथ्यसिद्ध र तर्कसिद्ध रहेको उल्लेख गरेका छन् ।

उनले अगाडि भनेका छन्, ‘तर भारतका शासकहरु ती नेपालका प्रिय भूभाग माथि एक पछि अर्को अतिक्रमण गर्दै आइरहेका छन् र जबर्जस्त कब्जा गर्ने दुर्नियतले चलिरहेका छन । त्यसैको पछिल्लो कडी हो प्रधानमन्त्री नरेन्द्र मोदीको पुजा आजाको नाममा गरिएको ठाडो अतिक्रमण ।’

के भारतीय प्रधानमन्त्रीको कुटी भ्रमण नेपाल सरकारलाई थाहा थियो ? के नेपाल सरकारसँग स्वीकृति लिएर त्यत्रो सशस्त्र शक्तिका साथ भारतीय प्रधानमन्त्री आएका हुन ? त्यस्तो होइन भने नेपालले राष्ट्रिय सहमतिका साथ चुच्चे नक्सा पास गरेको होइन ? यो नक्सा बमोजिमको नेपाली भूमिको रक्षा गर्ने जिम्मा नेपाल सरकारको होइन? आज गठबन्धन सरकार के हेरेर बसिरहेको छ ? संसद भित्र त्यत्रो आवाज उठ्दा समेत किन आज यस बारेमा कुनै दलले एक शब्द निकालिरहेका छैनन् ?- खनालकाे प्रश्न छ ।