आज घरघरमा फूलपाती भित्राइँदै

आज घरघरमा फूलपाती भित्राइँदै


काठमडौँ ।

आज नवरात्रिको सातौँ दिन अर्थात् फूलपाती । फूलपातीको दिनदेखि सरकारी कार्यालयहरुमा सार्वजनिक बिदा हुने भएकाले दसैँको टीका थाप्न आ-आफ्नो घर फर्किने क्रम आजबाट झनै बढ्छ ।

घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा आज अपराह्न विधिपूर्वक फूलपाती भित्राइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकको रुपमा भित्राइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको र फूलपाती भित्राउनका लागि कुनै साइतको आवश्यकता नपर्ने नेपाल पञ्चांग निर्णयक समितिले जनाएकाे छ । फूलपाती भित्राएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

काठमाडौँको हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राहृमण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्राउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकोमा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको छ ।

आश्विन शुक्ल सप्तमीको दिनदेखि नै शक्तिपीठहरुमा पूजा गर्नेहरुको घुइँचो थप बढ्ने गर्दछ । नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक-फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।